नेपाल स्काउटले कमीशन र स्वार्थको खेल खेल्यो : पूर्वउर्जामन्त्री खड्का
काठमाडौँ – नेपाली कांग्रेसका नेता एवम् पूर्वउर्जामन्त्री दिपक खड्काले नेपाल स्काउटको विषयमा आफूलाई जोडेर आएका समाचारप्रति भ्रामक भएको बताएका छन् । अतिरञ्जित र चरित्रहत्या गर्ने उद्देश्यका साथ सामाचार प्रकाशित तथा प्रसारित भइरहेको बताउँदै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
“हामी स्पष्ट पार्न चाहन्छौं कि खड्का ल्याण्ड प्रालिसँग सम्बन्धित सम्पूर्ण शेयर स्वामित्व पूर्व मन्त्री खड्काले धेरै पहिले नै हस्तान्तरण गरिसक्नुभएको छ, र हाल सो कम्पनीसँग उहाँको कुनै पनि आर्थिक, व्यवस्थापकीय वा कानुनी संलग्नता छैन,” विज्ञप्ति निकाल्दै खड्काले भनेका छन् । विज्ञप्तिमा नेपाल स्काउट र खड्का ल्याण्ड प्रालिबीच भएको लेनदेन तथा जरिवानासम्बन्धी विवाद सम्मानित काठमाडौँ अदालतमा विचाराधीन अवस्थामा अदालतले जे निर्णय गर्छ, त्यसको पालना गर्न सबै पक्ष बाध्य रहेको जनाइएको छ ।
खड्को सचिवालयले विचाराधीन मुद्दालाई तोडमोड गरी व्यक्तिगत चरित्रमाथि आक्रमण गर्नु न्यायिक प्रक्रियामाथि हस्तक्षेप र राजनीतिक दुर्भावनाको उदाहरण भएको बताएको छ । नेपाल स्काउटको नेतृत्वले संगठनको विकासमा ध्यान दिनुको सट्टा कमीशन र स्वार्थको खेलमा संलग्न भई, जानाजानी पूर्वमन्त्री खड्कालाई लक्षित गर्दै गलत प्रचार गर्दै आएको सचिवालयले जनाएको छ । यस्तै, कम्पनीले बुझाउनुपर्ने रकममा कोभिड–१९ सम्बन्धी छुटको हिसाबकिताब स्पष्ट नगरी, उल्टै पूर्वमन्त्री खड्कामाथि आरोप लगाउने प्रवृत्तिले सत्यतथ्य ढाकछोप गर्ने प्रयास गरेको सचिवालयको भनाई छ ।
स्काउटले गलत नियतका साथ विभिन्न सञ्चार माध्यमहरूमा असत्य समाचार सम्प्रेषण गरी दिपक खड्काको व्यक्तिगत र राजनीतिक छविलाई हानि पु¥याउने प्रयास गरेको भन्दै सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सचिवालयले खड्का ल्याण्ड प्रालिको स्वामित्वमा रहेको नेपाल स्काउटको जग्गामा कम्पनीले विगतमा विभिन्न संस्थाहरुलाई कानुनी रूपमा भाडामा सेवा प्रदान गर्दै आएको र भाडामा लिएका संस्थामध्ये केहीले कोभिड–१९ को समयमा बिना जानकारी स्थल छोड्ने र भाडा नतिर्ने कार्य गरेको र जसको बारेमा कम्पनीले नेपाल स्काउटलाई आधिकारिक रूपमा जानकारी गराइसकेको बताएको छ ।
उक्त जानकारीलाई बेवास्ता गर्दै स्काउट नेतृत्वले बिजुली काट्ने, धम्की दिने, तालाबन्दी गर्ने र असभ्य व्यवहार गर्ने कार्यहरू गरेको सचिवालयले जनाएको छ । खड्का ल्याण्ड प्रालिबाहेक अन्य तेस्रो पक्ष कम्पनीहरू माई च्वाइस रेस्टुरेन्ट र लैनचौर बैंक्वेटलाई पनि बिना जानकारी रातको समयमा आइ दबाब सिर्जना गर्ने, तालाबन्दी गर्ने र धम्की दिने जस्ता असभ्य कार्यहरू भएको पुष्टि भएको सचिवालयले जनाएको छ । यस्ता गतिविधिले नेपालमा सकारात्मक, स्थायी र विश्वासिलो व्यवसायिक वातावरण सृजना गर्न गम्भीर असर पु¥याइरहेको बताइएको छ ।
विभिन्न सञ्चार माध्याममा आएको समाचारप्रति यसअघि २०८१ मङ्सिर २६ गते नेपाल स्काउट र खड्का ल्याण्ड प्रालिले संयुक्त विज्ञप्ति जारी गरी सम्बन्धित विषयको यथार्थता सार्वजनिक गरिसकेको सचिवालयलेडमोड गरी प्रस्तुत जनाएको छ ।