जेनजी युवाहरुलाई सरकारले दियो अर्को खुशीको खबर

आइतबार, २३ कार्तिक २०८२

काठमाडौं—जेनजी युवाहरुलाई सरकारले अर्को खुशीको खबर दिएको छ ।

अब जेनजी युवाले निकै सस्तोमा उच्च गुणस्तरीय र किफायती इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन् ।

नेपाल टेलिकमले २०५४ साल वा सोपछि जन्मिएका विद्यार्थीका लागि एनटी फाइबर विद्यार्थी अफर सञ्चालनमा ल्याएको छ।

४,९९९ मा एक वर्षसम्म ३० एमबीपीएस गतिको इन्टरनेट चलाउन पाइने छ । यो सेवा लिन २०८२ माघ २२ गतेभित्र विद्यार्थी परिचयपत्र र जन्ममिति खुल्ने प्रमाणपत्रसहित आवेदन पेस गर्नुपर्नेछ ।

आइतबार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उक्त अफरको शुभारम्भ गरे।

मन्त्री खरेलले आर्थिक रूपले सक्षम नभएका विद्यार्थीहरूलाई सूचना प्रविधिमा पहुँच स्थापित गर्न सहुलियतपूर्ण विशेष उपहार प्रदान गरेकोमा नेपाल टेलिकमलाई धन्यवाद दिए। उनले जनतालाई सुशासनको अनुभूति हुनेगरी काम गर्न पनि निर्देशन दिएका छन्।

कम्पनी सञ्चालक समितिका अध्यक्ष, सञ्चार तथा सूचना प्रविधि सचिव राधिका अर्यालले नेपाल टेलिकमले नाफाभन्दा पनि सेवालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन्।