भावि प्रधानमन्त्री कुलमान घिसिङ, बालेनको पूर्ण समर्थन

शनिबार, २९ कार्तिक २०८२

काठमाडौं—बालेनको समर्थनमा कुलमान घिसिङ प्रधानमन्त्री हुने भएका छन् ।

नेपाली युवाहरुले नयाँ सोच र उत्साह बोकेको नयाँ दलको खोजी गरिरहेका बेला भर्खरै गठन भएको उज्यालो नेपाल पार्टीले बालेनको पूर्ण समर्थन पाएपछि घिसिङलाई निर्वाचन पछिको प्रधानमन्त्री घोषित गर्दै चुनावमा होमिने तय गरेको छ।

ऊर्जा मन्त्रायलको जिम्मेवारीमा रहेका घिसिङ भने उम्मेदवारी मनोनयन गर्नेबेला मात्रै पार्टीमा जोडिनेछन्।बालेनको समर्थन पाएसंगै रास्वपा छोडेकी सुमना श्रेष्ठ, सुदन गुरुङहरु पनि कुलमनको समर्थनमा आउनेमा उज्यालो नेपाल पार्टी विस्वस्त रहेको नेताहरुले बताएका छन् ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहको समर्थन रहने सन्देश पाएपछि बिहीबार बसेको पार्टीको बैठकले घिसिङलाई अघि सारेर आक्रामक चुनावी अभियान सञ्चालन गर्दै देशभर पुग्ने निर्णय गरेको एक नेताले जानकारी दिए।

बालेन्द्रसँग आफ्नो पटकपटक छलफल भइरहेको र निरन्तर हुने घिसिङले शुक्रबार नेताहरूलाई सुनाएका छन्। यसबाट उत्साहित देखिएका उनीहरूले भावी प्रधानमन्त्रीका रूपमा घिसिङलाई अगाडि सार्ने निर्णय गरेका हुन्।

त्यस्तै, भ्रष्टाचारको समूल अन्त्य र सुशासन, चुस्त र पारदर्शी सार्वजनिक सेवा प्रवाह, मुलुकमै रोजगारीको अवस्था सिर्जना गर्ने कार्यक्रम, नेपालमा पुँजी भित्र्याउने, योग्यता, क्षमता र सीप भएका जनशक्तिलाई नेपालमै टिकाउने जस्ता चुनावी एजेन्डा तय गरिएको उनीहरूको भनाइ छ।

यही कारण बालेन्द्रको समर्थन टुट्न नदिन, रास्वपा छोडेकी सुमना श्रेष्ठ र हामी नेपालका संयोजक सुदन गुरुङ लगायतलाई समेट्न डा तारा जोशीको संयोजकत्वमा एक समिति बनाइएको छ।उज्यालो नेपाल पार्टीले भर्खरै खुलेका दल, रास्वपा, सीके राउतको जनमत, नागरिक उन्मुक्ति पार्टी, हर्क साम्पाङको श्रम संस्कृति पार्टीसँग पनि सहकार्यको लागि छलफल गर्नेछ।

फागुन २१ गते तय भएको चुनावको लागि प्रत्यक्ष तर्फका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने यो पार्टीका नेताहरूको भनाइ छ। १६५ जना उम्मेदवारको छनोट प्रक्रिया, समानुपातिकतर्फका ११० जना छान्ने मापदण्ड लगायतको कार्यविधि बनाउन जीतराम वाइबाको नेतृत्वमा अर्को तीन सदस्यीय समिति बनाइको छ। उज्यालो पार्टीले आक्रामक चुनावी प्रचार योजना अघि सारेको उनी बताउँछन्।

सोसल मिडिया, आईटी लगायतमा काम गर्नेगरी छुट्टै समूह बनाइएको छ। उज्यालो पार्टीले सेलेब्रिटी र जनप्रतिनिधिलाई समेट्न लागेको वाइबाले जानकारी दिए। कांग्रेस–एमाले लगायत पुराना दलसँग भने सहकार्य नहुने उनको भनाइ छ। सो पार्टीले पूर्वऊर्जासचिव अनुकुमार उपाध्यायको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति रहेको अद्यावधिक विवरण कात्तिक २५ गते निर्वाचन आयोगमा बुझाएको थियो।