मेडिकल व्यवसायी दुर्गा प्रसाईले गरे पार्टी दर्ता
काठमाडौं—नेपालमा जसरी पनि राजा ल्याई छाड्ने उद्घोष गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईले पार्टी दर्ता गरेका छन् ।
प्रसाईंले आँफु संरक्षक बसेर आफ्नो स्वकीय सचिव कल्पित प्रसाई सभापति रहनेगरि नागरिक बचाउ दल नेपाल निर्वाचन आयोगमा दर्ता गरेका हुन् ।
कल्पितले आफू सभापति रहने गरी दल दर्ताको सबै प्रक्रिया पूरा गरेको बताएका छन् । आफू सभापति भए पनि पार्टीको मुख्य व्यक्ति दुर्गा प्रसाईं नै भएको उनले बताएका छन् । कल्पितसहित पार्टीका सदस्यहरुले आइतबार बिहान निर्वाचन आयोगमा गएर सनाखत गरिसकेका छन्।
प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाउँदै आएका छन् । यही महाअभियानसँग मिल्दो नाममा दल बनाएका हुन् ।
यो पार्टीमा रहेका केन्द्रीय सदस्यहरू आइतबार सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित भएका छन् ।
दल दर्ताका लागि निवेदन दिने आज अन्तिम दिन हो । भोलिदेखि मंसिर १० गतेसम्म प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय छ ।
निर्वाचन आयोगले भने दल दर्ताको निवेदन प्राप्त भएको खण्डमा कागजात पुगे—नपुगेको हेर्ने र कागजात पुगेपछि दर्ता गर्ने बताउँदै आएको छ । मंसिर १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय भएकाले त्यसदिनसम्मै निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएकाले चुनाव लड्न सक्नेछन् ।
प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गतेका लागि तय भएको छ ।
दुर्गा प्रसाईं सरकारसँग विभिन्न माग राखेर अभियानमा छन् । उनलाई सरकारले चुनाव लडेर आउन र माग पूरा गर्न समेत आग्रह गर्दै आएको छ ।
यही कात्तिक १४ गते प्रधानमन्त्री सुशीला कार्कीले सम्पादकहरूसँग छलफल गरेकी थिइन् । त्यसबेला प्रधानमन्त्री कार्कीले झापामा पूराना नेता कमजोर भएको र दुर्गा प्रसाईं आउन सक्ने सम्भावना रहेको सुनाएकी थिइन् ।