सुदन गुरुङले गरे नागरिक शक्ति निर्माण गर्ने महाभियानको घोषणा
काठमाडौं— जेनजी नेता सुदन गुरुङले गोरखकाली माई साक्षी राखेर वैकल्पिक नागरिक शक्ति निर्माण गर्ने महाभियानको घोषणा गरेका छन् ।
उनले पार्टी प्रेमी नभई देशप्रेमी नेपालीलाई एकैठाउँमा समेटेर देश परिवर्तन गर्ने वैकल्पिक युवा शक्ति निर्माण गर्न अभियान घोषणा गरेका हुन् ।
आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै हामी नेपालका संयोजकसमेत रहेका गुरुङले सार्वजनिक रूपमा हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ, सुमना श्रेष्ठ र सागर ढकाललाई समेत सँगै उभिन आह्वान गरेका छन्।
जेनजी प्रतिनिधि सुदन गुरुङले युवा पुस्तालाई एकजुट बनाएर देश परिवर्तनको अभियान थाल्ने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘७ वटै प्रदेश, ७७ वटै जिल्ला, स्थानीय तह र वडा स्तरसम्म जेनजीको एकजुटता पूरा भइसकेको छ। अब हामी चाहन्छौँ अन्य सबै नेपाली पनि यो नेपाल परिवर्तन अभियानमा जोडिउन्। हाम्रो देशलाई एउटा वैकल्पिक नागरिक शक्ति चाहिन्छ। पार्टीप्रेमी होइन, देशप्रेमी नेपाली एकजुट हुनुपर्छ।’
उनले छिट्टै नै परिवर्तन चाहने सबै नेपालीलाई जोड्ने डिजिटल प्लेटफर्म सार्वजनिक गर्ने बताएका छन्। अब अभियानको दोस्रो चरण सुरु हुने र जनताले विश्वास गरेका सबै जिम्मेवार व्यक्तिलाई एउटै मञ्चमा ल्याउने उनको योजना छ।
हामी नेपालका संयोजक समेत रहेका गुरुङले सार्वजनिक रूपमा हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ, सुमना श्रेष्ठ र सागर ढकाललाई समेत सँगै उभिन आह्वान गरेका छन्। उनले लेखेका छन्, ‘हामी सबै नेपालीको एउटै चाहना छ तपाईंहरू सबै एकै ठाउँमा सँगै उभिनुहोस्।’
उनले यो अभियान गोरखा मन्दिरबाटै सुरु गर्ने घोषणा गरेका छन्। ‘जसरी गोरखाबाट एकताको यात्रा सुरु भएर नेपाल बनेको थियो, त्यही गोरखा मन्दिरबाट आशीर्वाद लिएर हामी यो अभियान थाल्दै छौँ। राष्ट्रको हित र आगामी पुस्ताको भविष्यका लागि।’