कोरियाको सियोल थियोलोजिकल युनिभर्सिटीमा मार्च इन्टेक–२०२६ का लागि भर्ना खुल्यो
काठमाडौं – कोरियाको राजधानी सियोल नजिकै रहेको सियोल थियोलोजिकल युनिभर्सिटी (Seoul Theological University)मा मार्च इन्टेक–२०२६ का लागि भर्ना आवेदन खुलेको छ । सियोलबाट करिब १ घण्टाको दूरीमा अवस्थित युनिभर्सिटीमा मार्च इन्टेक २०२६ का लागि कम्प्युटर ईन्जिनियरिङ र ग्लोबल म्यानेजमेन्ट विषयमा भर्ना आवेदन खुलेकाे हाे ।
नेपाली नागरिकता भएका विद्यार्थीहरूलाई लक्षित गर्दै अनलाइन आवेदन तथा अन्तरवार्ता प्रक्रियामार्फत भर्ना आवेदन खुला गरेको विश्वविद्यालयले जनाएको छ । यो आवेदन अङ्ग्रेजी माध्यममा स्नातक तह (Bachelor’s Degree) अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि खुला गरिएको हो ।
विदेशी विद्यार्थीहरूको पठन–पाठनका लागि उत्कृष्ट शैक्षिक संस्थाका रूपमा परिचित हुँदै आएको यस विश्वविद्यालयमा उचित शैक्षिक शुल्क संरचना, शान्त र सुरक्षित वातावरण तथा विदेशी विद्यार्थीमैत्री शैक्षिक वातावरणका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरूको माग उच्च रहेको छ।
आवेदन १७ नोभेम्बर २०२५ बिहान १०:०० बजे देखि ३१ डिसेम्बर २०२५ साँझ ६:०० बजे सम्म खुला रहनेछ। आवश्यक कागजातहरू भने डिसेम्बर ३१ अपरान्ह ४:०० बजे भित्र अनलाइनमार्फत बुझाइ सक्नुपर्नेछ। आवेदन दिनका लागि नेपाल वा विदेशबाट १२ कक्षा (High School) उत्तीर्ण गरेको हुनुपर्नेछ र सबै कागजातहरू Embassy Verified हुन अनिवार्य छ।
आवश्यक सबै कागजातहरू एम्बेस्सी भेरिफाइड (Embassy Verified) भएको निर्धारित समयभित्र अनलाइन आवेदन अनिवार्य रूपमा बुझाइ सक्नुपर्ने र तोकिएको समयपछि प्राप्त भएका कागजातहरू स्विकार नहुने विश्वविद्यालयले जनाएको छ ।
विस्तृत विवरण, आवेदन फारम तथा आवश्यक कागजातहरूको सूचीका लागि विश्वविद्यालयको आधिकारिक वेबसाइट https://intl.stu.ac.kr/ मा हेर्न सकिने बताइएको छ ।