कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ५६३ पुग्यो अझै बढ्ने सम्भाबना

बिहिबार, २३ माघ २०७६

काठमाण्डौ – चीनमा कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म ५६३ व्यक्तिको ज्यान गएको छ । अहिलेसम्म चीनभर २८ हजार व्यक्ति सङ्क्रमित भएका छन् । सङ्क्रमित बिरामीको सङ्ख्या ‌बढेपछि चीनका अस्पतालहरुमा बिरामी राख्ने बेडको अभाव देखिन थालेको छ ।

गएको वर्षको अन्तमा जनावरहरु बेच्ने बजारबाट उत्पत्ति भएको भनिएको कोरोना भाइरस चीनको झण्डै २४ ओटा प्रान्तमा फैलिएको पुष्टि भएको छ । बिहीबार एसियाली समुद्रको यात्रामा रहेका दुइ पानी जहाजमा हजारौँ व्यक्ति घण्टौँसम्म फसेका थिए । जसमध्ये २० जनालाई कोरोना भाइरसको सङक्रमण देखिएको बताइएको छ ।

यस भाइरसको महामारीको केन्द्रको रुपमा रहेको हुवेई प्रान्तको वुहानले १ हजार ६०० शैयाको अस्पताल निर्माण गरेको छ । यसअघि यसै हप्ताको सुरुमा नै एक हजार शय्या भएको अस्पताल बनाइसकेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले चीनको हुवेइमा शीघ्र सङ्क्रमण भइरहेको भए पनि चीनकै अन्य राज्यमा यसको फैलावट छिटफुट रहेको बताएको थियो । चीनका अधिकारीले सङ्क्रमण नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गरेका र अन्य प्रभावित मुलुकले पनि भाइरस सङ्क्रमणलाई नियन्त्रणबाहिर जान नदिन यथेष्ट सावधानी अपनाएको पाइएको पनि उक्त सङ्गठनले जनाएको छ ।

चीनको हुवेइका साथै अन्य भागमा अपनाइएका उपाय र विश्वका अन्य देशले नियन्त्रणका लागि देखाएका गम्भीर सावधानीका कारण छिट्टै सङ्क्रमण रोक्न सफलता मिल्ने अन्तर्राष्ट्रिय समूदायले विश्वास व्यक्त गर्दै आएको छ ।