कैलाली बहुमुखी क्याम्पसको दुई बर्षमा मुहारै फेरियो : स्ववियू सचिव रोकाया

शनिबार, २५ माघ २०७६

कैलाली – व्यवस्थापन शंकायमा स्नातकोत्तर गरेर पुनः विएसडब्लु विषय स्नातकमा अध्ययनरत कृष्ण रोकायाले विद्यार्थी आन्दोलनको एक सशक्त योद्धाको रुपमा चिनिन्छन् । बझाङको थलारा गाउँपालिकामा जन्मिएका रोकायले विद्यार्थी आन्दोलनमा जेलजीवन समेत विताएका थिए । २०६३ सालदेखी अनेरास्वियुको प्रारम्भिक कमिटी हुँदै प्लस्टु ईकाई कमीटीको अध्यक्ष हुँदै २०६६ सालमा कैलाली वहुमुखी क्यम्पस ईकाइ कमिटी सदस्य हुँदै अध्यक्ष भएर काम गरेको अनुभव बटुलेका छन् ।

उनले २०७४ साल जेठ ९ गते भएको कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा अनेरास्विीयको तर्फबाट सचिव पदमा निर्वाचित भएका थिए । क्याम्पसमा विद्यार्थीका हकहितमा खरो रुपमा प्रस्तुत हुने रोकाया निर्वाचित भएपछि विद्यालयको शैक्षिक गुणस्तरदेखी भौतिक सुधारमा महत्वपुर्ण योगदान पुर्योउन सफल भएका छन ।

यसै सन्दर्भमा रहेर कैलाली बहुमुखी क्याम्पसका स्ववियु सचिब कृष्ण रोकायासँग मोटिभेट न्यूजडटकमका लागि लक्ष्मीप्रसाद जैशीले गरेको कुराकानीको सम्पादित अंश ।

स्ववियु चुनाव जितेपछि विद्यालयमा के के उपलब्धी भए ?

तपाईले धेरै राम्रो प्रशंग उठाउनु भयो, वास्तवमा हामीले चुनावताका बेला विद्यार्थी माझ राखेका धेरै कुराहरु गरिसकेका छौं । हामीले गरेका यतिमात्र कामले पुर्णता भने अझै पाउन सकेको छैन । सबै भन्दा पहिले हामीले भर्ना गर्दा, परिक्षा फर्मको पैसा बुझाउँदा दिनभर लाईन बस्नु पर्ने व्यवस्थाको अन्त्य गरेका छौं ।

विद्यालय हाताभित्रनै हामीले कृषि विकास बैंकको शाखाबाट सहजरुपमा विद्यार्थीलाई सेवा दिन सफल भयौं । यस्तै कलेजमा इनजीनियरीङ विषयको लागि १३ करोड बजेट भवन निर्माणको लागि राष्टिय योजना आयोगको बजेट विनियोजन, प्रदेशको सामाजिक विकास मन्त्रालयबाट आईसीटी म्यानेजमेन्टहल, पुस्तकालय, घेरापर्खाल, वि ब्लकमा अत्याधुनिक महिला शौचालय, विविए र आरडि विषयमा डिग्रीको कक्षा सञ्चालन, विद्यालयमा मेघाहलको निर्माण प्रक्रिया अघि बढेको छ । हाम्रै पहलमा विभिन्न सरकारको लगानीमा छात्रावास आगामी चैत्र महिना भित्र विद्यालयलाई हस्तान्तरण गर्ने गरी काम भैरहेको छ ।

विद्यार्थिका लागि ठयाक्कै देखिने के के काम गर्नु भयो ?

मैले धेरै कुरा अघि भनिसके । चुनावको घोषणापत्रका सबै काम गरिरहेका छौं । धेरैकामहरु हुँदैछन् । चरणबद्धरुपमा हामी लागि परेका छौं । जेहेन्दार, पिछडिएका, गरिब विद्यार्थिहरुका लागि छात्रबृद्धिका दिलाएका छौं । एक विद्यार्थी एक खाता निशुल्क अभियान शुरु गरेका छौं भने, विद्यालयको सि व्लकमा सिसीटिभी क्यामेरा राख्ने काम केही दिनमै पुरा हुँदैछ । स्वतन्त्र विद्यार्थि युनियनको छुट्टै भवन निर्माण भएको छ । विद्यालयमा आमसञ्चार विषयलाई प्रभावकारी बनाउन एफएम सुचारु भएको छ ।

यति धेरै काम गर्यौं भन्नु भयो श्रोत कहाँबाट ल्याउनु भयो ?

अहिले नेपालमा तीनवटा सरकार छन । संघ, प्रदेश र स्थानीय तीनै सरकार, सांसद, मन्त्री, प्रमुखहरुसँगको समन्वयमा हाम्रै पहलमा धेरै काम भएका छन । तपाईलाई थाहानै छ । अहिले प्रदेश र संघ सरकार नेकपाको छ । हामीले बढी भन्दा बढी पहल गरिरहेका छौं ।

तपाईको २ बर्ष कार्यकालमा विद्यार्थीसँग गरेका सबै बाचा पुरा भए भन्ने लाग्छ यहाँलाई ?

तपाइले महत्वपुर्ण प्रशंग उठाउनु भयो । हाम्रो करिब ७ महिना त मुद्धामै वित्यो । नेविसंघले आफ्नो हार स्विकार्न नसकेर मुद्धा गर्यो । जित हाम्रै थियो खाली हामीलाई दुःख दिने नियतले गरेको थियो । २०७४ को मंसिरमा हाम्रो पदभार ग्रहण गर्यौं । धेरै बर्षपछि भएको निर्वाचनमा विद्यार्थीहरुको समस्या र अपेक्षा बढ्नु स्वभाविक कुरा हो । तर हाम्रो काम विद्यार्थीका हरेक पिरमर्कामा साथ दिने हो ।

विद्यार्थीहरुको आवश्यकतालाई क्याम्पस प्रशासन र व्यवस्थापनसँग समन्वय गर्ने र विद्यार्थीको सर्वाङगीण विकासको लागि निरन्तर खबरदारी गर्ने जिम्मेवारी हाम्रो हो । हामी त्यसैमा तल्लीन भयौं । हामी आईसके पश्चात धेरै कामहरु अघि बढेको सबैले देख्न सक्नु हुन्छ । अब कुरा रह्यो हामीले आफ्नो प्रयास जारी राखेका छौं । चुनावमा बोलेका सबै बाचा पुरा गर्न हामी रातदिन लागिरहेका छौं । ती काम पूर्णगर्नु आफ्नो मुख्य दायित्व सम्झेर लागेका छौं ।

कैलाली बहुमुखी क्याम्पस प्रदेशकै इतिहास बोकेको क्याम्पस पनी हो, काम गर्दै जाँदा चुनौतिहरु के के देख्नु भयो ?

हो हरेक काम गर्न जति सजिलो छ त्यतिनै चुनौति तिएर आएको हुन्छ । पदमा बसेर जिम्मेवारी सम्हाल्न बाहिर बोले जस्तो नहुँदो रहेछ । हरेक काम वाधा व्यवधान आउँदा रैछन । तर निरन्तर जिम्मेवारीपूर्वक लाग्यो भने सम्भव हुँदो रहेछ । हामीले सुरुमा कसरी जाने भन्ने नै मुख्य चुनौति भएपनि विस्तारै विद्यार्थीका हकहितका विभिन्न विषयबस्तु उठान गरेरै छाड्यौं ।

क्याम्पस र विद्यार्थीको लागि विकासका लागि आगामी योजना के के छन ?

हो हामीले धेरै कामको सुरुवात गरेका छौं । केही कामहरु अधुरा छन, ती पुरा गर्नु पर्ने हाम्रो पहिलो दायित्व छ । यस्तै हामीले क्याम्पसमा नयाँ विषय बस्तुका कक्षाहरु सञ्चालन गर्नु पर्ने देखीएको छ । अहिलेको २१ औ प्रविधिको युगमा प्रविधिलार्र्इ बढी जोड दिनुपर्ने टडकारो देखिएको छ । हामीले अब क्याम्पसमा प्राविधिक तर्फका कक्षाहरु सञ्चालनको लगि विभिन्न पक्षलाई झकझक्याइ रहेका छौं । विद्यालयमा एमविए लगाएतका कक्षाहरु सञ्चालनको लागि दवाव श्रृजना गरीरहेका छौं ।