कुमल गाउँपालिकामा मोटरसाईकल पुग्दा स्वागत
कालिकोट -जिल्लाको नरहरिनाथ गाउँपालिकामा पहिलो पटक मोटरसाईकल पुगेको छ। विकासमा पछि परेको नरहरीनाथ गाँउपालिकामा स्थानीय तह निर्वाचन भएको करिव ३३ महिनापछि मोटरसाइकल पुगेको हो।
गाउँपालिकाले निमार्ण गरिएको लालिघाट, सुनथराली हुँदै गाँउपालिका केन्द्र कुमालगाँउसम्मको ग्रामिण सडक खोलिएपछि गाँउपालिकामा मोटरसाईकल गएको हो। गाँउपालिकाले दुई वर्ष लगाएर ७ करोडको लगानीमा लालिघाटदेखि कुमालगाउँसम्मको १८ किलोमिटर सडकको ट्रयाक खोलेको छ।
गाँउमा पहिलो पटक मोटरसाईक देख्दा निकै उत्साहित भएको नरहरीनाथ गाँउपालिका वडा नं। २ निवासी कालीबहादुर बिष्टले बताए। उनले भने, मलाई धेरै खुसी लागेको छ, ढिलै भए पनि गाउँमा मोटरसाईकल देख्न पाइयो। गाँउमा गाडी आउने भएपछि हामीले जुनी बदलेको जस्तो लागेको छ। लालिघाटदेखि गाउँपालिका केन्द्र कुमालगाँउमा पहिलो पटक २ वटा मोटरसाईकल पुग्दा स्थानियले अभिनन्दन गरेर भव्य स्वागत गरे।
नरहरीनाथ गाँउपालिका वडा नं। २ का खम्म दर्जीले आफ्नो गाँउको छेउबाट गाडी गुड्ने भएपछि खुसी भएको बताए। उनले थाप्लोको भारी पर जान्छकी भनेर खुसी भएको उल्लेख गरे। कठै हाम्रा दिन त दुःखमा बिते। अब छोराबुहारी, नातिहरूलाई सुख हुने भयो। यहाँ आँगनैमा यसरी मोटरसाईकल आउला जस्तो लागेको थिएन, तर आज मोटरसाईक गाउँमै देख्न पाइयोु, उनले भने, अब टाढा हाट जाने दिन गया। यसअघि नुनतेल, लत्ताकपडा जस्ता दैनिक उपभोग्य सामान ल्याउन एक दिन लाएर जिते लालिघाट बजार जानुपर्ने बाध्यता थियो। अव त्यो बाध्यता टर्यो।
रहरिनाथ गाउँपालिकाको ७ करोड बजेट र झण्डै २ करोड बराबरको स्थानीय नागरिकको श्रमदानले १८ किलोमिटर सडक निर्माण सकिएको गाँउपालिका अध्यक्ष धिरबहादुर बिष्टले बताए। उनले ठुला ठुला डाँडा(काँडा, चट्टानी भुगोल भएकाले गाँउमा गाडी पुग्ने ढिलो भएको बताए।
उनले भने, लामो समयपछि कर्णाली करिडोर अन्तरगत लालिघाटबाट गाँउपालिकामा सडकको ट्रयाक खोलिएको छ। अब हामी आगामी चैत्र महिनाबाट नियमिति रूपमा लालिघाट कुमालगाउँ जिप संचालन गर्ने योजनामा छौँ।
गाँउमा पहिलो पटक मोटरसाईकल लिएर जाने स्थानीय युवा भीम शाही र सुमन विष्टलाई स्थानीयले अभिनन्दन गरेका थिए।