वर्षौदेखि अलपत्र परेको सडकको कालोपत्रे हुने

आइतबार, २६ माघ २०७६

गोरखा– सात वर्षदेखि अलपत्र गोरखाको पन्थडिही–कटहरे–हर्मी सडक भारत सरकारको सहयोगमा कालोपत्रे हुने भएको छ । भारतको एक्जिम बैंक अफ इण्डियाको सहुलियतपूर्ण ऋण सहयोगमा सडक कालोपत्रे हुन लागेको हो । हाल हर्मी भञ्ज्याङसम्म रहेको ट्रयाकलाई साइँलीटारसम्म विस्तार गरी सडक कालोपत्रे गरिने सडक सुधार तथा विकास आयोजना निर्देशनालयका परियोजना प्रमुख सुशिलबाबु ढकालले जानकारी दिए ।

एक्जिम बैंकले नेपालका विभिन्न १२ वटा सडक र पुल निर्माणका लागि ३४ अर्ब रुपैयाँ ऋण सहयोग उपलब्ध गराएको थियो, सोही प्याकेज अन्तर्गत महाकाली नदीमा बन्ने पुल निर्माणका क्रममा बचत भएको रकम पन्थडिही कटहरे हर्मी हुँदै साइँलीटारसम्मको सडक स्तरोन्नतिमा लगाउने निश्चित भएको उनको भनाइ छ । “योजनाको पूर्व तयारीका क्रममा विस्तृत आयोजना प्रतिवेदन डीपीआर तयार भइसकेको छ,” उनले भने, “प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत हुने चरणमा छ ।”

पन्थडिहीबाट साइँलीटारसम्मको करिब २० किलोमिटर सडक कालोपत्रे हुने उनले जानकारी दिए । भारतीय विदेशमन्त्रीको पछिल्लो नेपाल भ्रमणका क्रममा पनि उक्त सडक स्तरोन्नतिका विषयमा कुराकानी भएको ढकालले जानकारी दिए । नेपाल सरकारले एक्जिम बैंकले उपलब्ध गराएको ३४ अर्बमध्येकै करिब १ अर्ब रुपैयाँ उक्त सडक स्तरोन्नतिमा लगाउने निर्णय गरिसकेको छ ।

केही वर्षअघि भएको अध्ययनले सडक स्तरोन्नतिमा करिब ९४ करोड रुपैयाँ खर्च लाग्ने देखिएको थियो । अहिले भने लागत केही बढ्न सक्ने ढकालले बताए । उक्त सडक आसपास पर्ने घर, विद्यालय, धारालगायत भौतिक संरचनाको मुआब्जा रकम आँकलन गर्नका लागि ११ किलो–छेवेटार–भालुस्वाँरा–वारपाक सडक योजनालाई जिम्मा दिइएको छ ।

सडक आसपास पर्ने भौतिक संरचनाबाहेक आवश्यक जग्गा भने स्थानीय बासिन्दाले निःशुल्क उपलब्ध गराउने सरकारको अपेक्षा छ । सार्वजनिक खरिद ऐनको नयाँ संशोधन अनुसार जग्गाको ब्यवस्थापन नभई ठेक्का प्रक्रियाअघि बढाउन नमिल्ने भएकाले पनि सडकको स्तरोन्नतिको काममा अलमल भइरहेको ढकालले बताए । उक्त सडक साढे ७ मिटर फराकिलो बन्नेछ, त्यसमध्ये साढे ५ मिटर कालोपत्रे हुने उनको भनाइ छ । पन्थडिहीबाट हर्मीसम्मको सडक स्तरोन्नतिको काम भने २०६९ सालबाटै सुरु भएको थियो ।

२०७० भदौमा ग्राभेल, रिटेनिङ वाल, नालीलगायतका संरचना बनाउने गरी महालक्ष्मी प्यासिफिक नाना जेभी नामको ठेकेदार समूहसँग सम्झौता भएको थियो । तर हालसम्म तोकिएको काम पूरा भएको छैन । एक्जिम बैंकको सहयोगमा उक्त सडक कालोपत्रे हुने भएपछि पुरानो ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाइएको ११ किलो छेवेटार–भालुस्वाँरा–वारपाक सडक योजनाले जनाएको छ ।