बालुवाटार काण्डमा मुछिएका सबैलाई कारवाही गर्ने विद्रोही नेकपाको चेतावनी, कसलाई कसरी हुँदै छ कारवाही ? (विज्ञप्तिसहित)

आइतबार, २६ माघ २०७६

काठमाडौँ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणका मुख्य नाइकेहरुलाई कारवाही गर्ने घोषणा गरेको छ ।

आफ्नो पार्टीले सामाजिक दायित्व र जनताको मागबमोजिम ललिता निवासकाण्डका दोषीहरूलाई कारबाही गरेपछि सरकारले दोषीलाई उन्मुक्ति दिनेगरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अघि सारेर मुख्य अभियुक्तहरूलाई जोगाएको आरेप लगाएको छ । उनीहरुलाई उन्मुक्ति दिए आफूहरूले कारबाही गर्ने नेकपाले जनाएको छ ।

पार्टी प्रवक्ता प्रकाण्डले आइतबार एक विज्ञप्ति जारी गर्दै ललितानिवास प्रकरणले सरकार, सत्तारूढ पार्टी र भ्रष्ट तथा कमिसनखोरहरूको अनुहार उदाङ्गो भएको बताएका छन् । ‘हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले सामाजिक दायित्व र जनताको मागबमोजिम ललिता निवासकाण्डका दोषीहरूलाई कारबाही गरेपछि त्यसको बाध्यात्मक उपजका रूपमा केपी वली सरकार र सरकारी पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अघि सारेका छन् । यसले सरकार, सत्तारूढ पार्टी र भ्रष्ट तथा कमिसनखोरहरूको अनुहार उदाङ्गो पारेको छ ।’ प्रवक्ता प्रकाण्डद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

अख्तियारले सरकार र सत्तारूढ पार्टीको प्रभाव र निर्देशनमा मुख्य अभियुक्तलाई उन्मुक्ति दिने गरी ललिता निवासकाण्डलाई किनारा लगाउन खोजेको नेकपाको ठहर छ। अख्तियारले सरकार, सत्तारूढ पार्टीको दबाब र निर्देशनमा उन्मुक्ति दिएका राजनीतिक, न्यायिक, प्रशासनिक क्षेत्रका ललिता निवासकाण्डका मुख्य अभियुक्तलाई आफ्नो पार्टीले उचित समयमा कारबाही गर्ने बिज्ञप्तिमा उल्लेख छ ।