मानहुँकोट मार्ग आजदेखि बन्द

बिहिबार, २२ फाल्गुन २०७६

दमौली –तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोट मार्ग आजदेखि बन्द गरिएको छ । मानहुँकोट नजिकै रहेको पहरामा ढलान गर्नका लागि निर्माण कम्पनीले उक्त मार्ग बन्द गरेको हो । मानहुँकोट मार्ग कालोपत्रे गर्नका लागि निर्माण कम्पनी रानीवन कन्स्ट्रक्सन काठमाडौले तयारी थालेको छ । पहिलो चरणमा अप्ठ्यारो रहेको उक्त पहरामा ढलान गरिने र ढलान सम्पन्न भएपछि अन्य ठाउँमा कालोपत्रेको काम शुरु गरिने सो कम्पनीका सञ्चालक केशव ढुङ्गानाले जानकारी दिनुभयो ।

सङ्घीय आयोजना कार्यान्वयन इकाई कास्की अन्तर्गत निर्माण भइरहेको उक्त सडकको करीब चार सय मिटर भाग आरसीसी ढलान गर्न लागिएकोले उक्त मार्ग डेढ महीनाका लागि बन्द हुनेछ । उक्त मार्ग बन्द हुने बारे व्यास नगरपालिकाको कार्यालयलाई जानकारी गराइएको र उक्त जानकारीको बोधार्थ वडा नं ५ को कार्यालय, जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई पनि दिइएको छ ।

सङ्घीय सरकारको बजेटमार्फत् मानहुँकोट जाने बाटो कालोपत्रेका लागि करीब पाँच किलोमिटर नाला निर्माण सम्पन्न भइसकेको छ । पाँच किलोमिटर सडक कालोपत्रेका लागि ग्राभेल गर्ने कामलाई समेत अगाडी बढाउन लागिएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षभित्रै कालोपत्रे सम्पन्न गरिसक्ने लक्ष्य छ । सोही वडाको चापाघाटदेखि अलैचेसम्मको डेढ किमि सडक पहिल्यै कालोपत्रे भइसकेको छ । व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले मानहुँकोटसम्म कालोपत्रे सडक भएपछि पर्यटकको सङ्ख्या थप वृद्धि हुने बताउनुभयो । उक्त मार्ग बन्द भएपनि पैदलयात्रा मार्फत् मानहुँकोट जानेहरुलाई भने कुनै समस्या नरहेको उहाँले जानकारी दिनुभयो । “ढलान गर्न लागिएको ठाउँसम्म सवारीसाधनमै जान सकिन्छ, त्यहाँबाट १०/१५ मिनेटको पैदलयात्रा गरेर मानहुँकोट जानलाई अवरोध हुँदैन,” उहाँले भन्नुभयो ।

पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको मानहुँकोट जाने कालोपत्रे भएपछि पर्यटकको सङ्ख्या अझै बढ्ने विश्वास छ । अहिले सो स्थानमा दैनिक दुई/तीन सय आन्तरिक पर्यटक पुग्ने गरेका छन् । सो स्थानबाट आँखै अगाडी पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । मानहुँकोटबाट धौलागिरी, माछापुच्छ्र्र्र अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकोले यस ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ ।

मानहुँकोटबाट दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युतको ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु देख्न सकिन्छ । मानहुँडाँडा आफैमा एउटा दृश्यावलोकन स्तम्भ (भ्युटावर) हो । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै व्यास नगरपालिकाले डाँडाको छेउमो रु २५ लाख र वडा कार्यालयको रु पाँच लाखको लागतमा रेलिङ निर्माण गरेको छ ।