अमेरिकाले दियो टर्कीलाई हतियार
वासिङटन – सिरियाको इद्लिबमा गर्ने सैन्य कारबाहीका लागि टर्कीलाई सघाउन अमेरिकाले हतियार उपलब्ध गराउने तयारी गरेको छ ।
सिरिया मामिलासम्बन्धी अमेरिकी विशेष प्रतिनिधि जेम्स जेफ्रीले वासिङटनमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘टर्की नेटोको सदस्य राष्ट्र हो । टर्कीका अधिकांश सैनिकले अमेरिकी हातहतियार प्रयोग गरिरहेका छन् । हामीले ती हातहतियार तयारी अवस्थामा रहेको र प्रयोगयोग्य रहेको पनि सुनिश्चित गर्नुपर्छ ।’
यसबाहेक टर्कीका लागि अमेरिकी राजदूत डेभिड स्याटरफिल्डले सञ्चारकर्मीसँग कुरा गर्दै अमेरिकाले जमिनबाट हावामा आक्रमण गर्न सक्ने प्याट्रिओट क्षेप्यास्त्रका लागि टर्कीले गरिरहेको अनुरोधमाथि विचार गरिरहेको खुलासा गरे । सिरियाको इद्लिब प्रान्तमा पछिल्लो केही समयदेखि भीषण युद्ध जारी छ । इद्लिब प्रान्त टर्कीसँग सीमा जोडिएको क्षेत्र हो । राष्ट्रपति बसर अल असद नेतृत्वको सिरियाली सरकारले इस्लामिक लडाकुले आ श्रय लिएर बसेको इद्लिबमा केही समयदेखि हवाई तथा स्थल सैन्य कारबाही गर्दै आएको छ । यो प्रान्त विद्रोहीहरू रहेको सिरियाको सबैभन्दा बलियो अखडा हो ।
सिरियाली सेनाले गरेको हवाई कारबाहीमा हालैमात्र ५० भन्दा बढी टर्केली सैनिकको मृत्यु भइसकेको छ । त्यसको प्रत्याक्रमणमा टर्कीले सिरियाका धेरैवटा लडाकु विमान र हेलिकप्टर खसालेको दाबी गरेको छ । पछिल्लो भिडन्तले टर्की, सिरियाली सरकार र रूसबीच गम्भीर मतभिन्नता उत्पन्न गराएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले इद्लिबमा पूर्वनिर्धारित सीमारेखाभन्दा भित्र सिरियाली सेना प्रवेश गरे टर्कीले सिरियाली सेनाविरुद्ध नै कारबाही गर्ने चेतावनी दिएका छन् ।
सिरिया सरकारले भने टर्की र अमेरिकाले सिरियाको इद्लिबमा रहेका विद्रोही लडाकुलाई सुरक्षा दिइरहेको आरोप लगाएको छ ।