सुकीलाई दिइएको ‘फ्रिडम अफ सिटी’ अवार्ड खोसियो
काठमाडौं–म्यानमारमा रोहिङ्ग्या मुस्लिममाथि गरिएको व्यवहारका कारण बेलायतको सिटी अफ लण्डन कर्पोरेसन (सीएलसी) ले बिहीबार आङ साङ सुकीलाई दिएको सम्मान रद्द गरेको छ । लण्डनको ऐतिहासिक केन्द्र र आर्थिक जिल्लाका निर्वाचित प्रतिनिधिहरुले सुकीलाई तीन वर्ष अगाडि दिइएको ‘फ्रिडम अफ सिटी’ सम्मान रद्द गर्ने निर्णय लिएको हो ।
गत डिसेम्बरमा म्यानमारकी नेतृले हेगमा रहेको इन्टरनेसनल कोर्ट अफ जस्टिसमा (आईसीजे) मा आफ्नो देशमा रोहिङ्ग्या मुस्लिममाथि भएको बलात्कार, आगजनी र सामुहिक हत्याको बचाऊ गरेपछि बेलायतले यस्तो कदम चालेको हो ।
‘आजको निर्णयले म्यानमारमा भएको मानवताविरोधी कार्यविरुद्ध सीएलसीको भत्सर्नालाई प्रतिबिम्बित गर्दछ,’ सीएलसी कमिटीका सभापति डेभिड वुटनले भने ।
सन् १२३७ मा स्थापना भएको सो उपाधि सन् २०१७ को मेमा सुकीलाई प्रजातन्त्र स्थापनाका लागि वर्षौँसम्म गरेको शान्तिपूर्ण संघर्ष र मानिसका लागि शान्ति, सुरक्षा र स्वतन्त्रता भएको समाज निर्माण गर्न गरेको योगदानका लागि प्रदान गरिएको थियो ।
युरोप भ्रमणका क्रममा उक्त अवार्ड लिन उनी आफै उपस्थित भएकी थिइन् । त्यतिबेला नै रोहिङ्ग्यामाथि गरिएको व्यवहारको लागि उनको आलोचना र विरोध भएको थियो । यसअघि उक्त अवार्ड बेलायती प्रधानमन्त्री विन्सटन चर्चिल, नेल्सन मण्डेला, स्टेफन हकिङलगायतले पाएका छन् ।