डलरको भाउ उच्च, ११८ रुपैयाँ ८४ पैसा पुग्यो

मंगलबार, २७ फाल्गुन २०७६

काठमाडौं – अमेरिकी डलरको भाउ दिनप्रतिदिन बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ । यो उच्च मूल्य हो ।चीनबाट फैलिन सुरु गरेको कोरोना भाइरसको संक्रमण विश्वभर देखिएको छ । कोरोनाको मनोवैज्ञानिक त्रासका कारण विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेको अवस्था छ ।

सोही कारण लगानीकर्ताहरु अमेरिकी डलर सञ्चय गर्नतर्फ लागेको अनुमान छ । पछिल्ला दिनहरुमा कोरोना त्रासका कारण विशेषगरी अमेरिकी डलर र सुन बजारतर्फ लगानीकर्ता आकर्षित भइरहेका छन् । सोही कारण डलरसहित सुनको भाउले समेत दिनहँजसो नयाँ रेकर्ड कायम गरिरहेको छ । माग बढेसँगै मूल्य पनि उच्च भएको हो ।