‘कोरोना भाइरसबारे हामी आफै डाक्टर नबनौँ

मंगलबार, २७ फाल्गुन २०७६


काठमाडौँ– कोरोना भाइरस संक्रमणपछि भारतले नेपाल आयात हुने वस्तुमा लगाएको रोकावट फुकाउन सरकारले कुटनीतिक पहल गर्ने भएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समिति र निजी व्यवासायीहरुबीचको छलफलपछि अर्थमन्त्री युवराज खतिवडाले कोरोनाविरुद्ध लड्न निजी र सरकारी क्षेत्रबीच सहकार्य प्रभावकारी ढङ्गले अघि बढाउने भन्दै भारतले रोकावट गरेका औषधीजन्य वस्तु खुलाउन प्रयास गर्ने निर्णय भएको जानकारी दिए ।

‘पहिला भन्सार विन्दुमा आएका वस्तुहरु छुटाउने, दोस्रो कुटनीतिक तहमा वार्ता गरेर आवश्यकीय वस्तुहरु अभाव हुन नदिने अनुरोध गर्नेछ,’ बैठकपछि अर्थमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता खतिवडाले जानकारी दिए । बैठकमा नेपालभित्रै उत्पादन हुनसक्ने वस्तुहरुको उत्पादनमा जोड दिन समेत सरकार र नीजि व्यवसायीहरु सहमत भएका छन् ।

सरकारले कोरोना त्रासपछि उपभोक्ताहरुले आफूलाई चाहिने भन्दा बढी बस्तु सञ्चय गर्ने गरेकाले समेत समस्या भएको भन्दै त्यस्ता वस्तुहरु अनावाश्यक सञ्चय नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

उनले भारतबाट आउने औषधीजन्य वस्तुबाहेक अन्य बस्तुको आयातमा कुनै रोकावट नभएको भन्दै चीनतर्फ संक्रमण घट्दै गएकाले चीनसँगको व्यापार पनि व्यवस्थित गर्दै लैजाने तयारीमा सरकार रहेको जानकारी दिए । छलफलमा औषधी उत्पादक संघले ८० प्रतिशत औषधि स्वदेशमै उत्पादन गर्न सक्ने भन्दै त्यसका लागि सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए ।

बैठकले सूचना सम्प्रेशण गर्दा भयभित हुनेगरी नगर्न र स्वास्थ्य मन्त्रालयबाट प्रवाह हुने सूचनालाई नै आधिकारिक ठान्न पनि आग्रह गरेको छ । ‘हामी सबै आफै डाक्टर नबनौँ, हामी जान्ने हुँदा स्थिति भयावह हुन सक्छ । जुन अहिले आवश्यक छैन । संयमले काम गर्नुपर्छ । त्यसका लागि स्वास्थ्य र सूचना प्रविधि मन्त्रालयले निजी क्षेत्रसँग सहकार्य गर्छ’, उनले सबै राजनीतिक दलसँग पनि चाडै छलफल गर्ने र कोरोनाबारे उच्च सतर्कता अपनाउन राजनीतिक तहमा पनि सवैको सहकार्य जरुरी रहेकाले बैठक गर्न लागिएको जानकारी दिए ।

छलफलमा औषधी व्यवसायीहरुले ५ महिनासम्म, खाद्यन्न ६ महिना, पेट्रोलियम पदार्थ ३ महिनालाई पुग्ने स्टक रहेको भन्दै यसका लागि सरकारले वजार अनुगमन सक्रिय पार्ने सहमति भएको छ । ‘कृतिम अभाव र अस्वभाविक मूल्य वृद्धि गर्नेलाई अपराधकै रुपमा लिनुपर्ने हुन्छ । यो वेलामा सबैले आ–आफ्नो अनुशासनमा बसेर काम गर्नुपर्छ’, मन्त्री खतिवडाको भनाइ छ