कांग्रेस राष्ट्रियसभा संसदीय दलमा अधिकारी

बुधबार, २८ फाल्गुन २०७६

काठमाडौं–कांग्रेस राष्ट्रियसभा संसदीय दल नेतामा राधेश्याम अधिकारी मनोनित भएका छन् । संघीय संसद्, संसदीय दल नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार राष्ट्रियसभा संसदीय दल नेतामा अधिकारीलाई मनोनित गरेका हुन् ।

राष्ट्रियसभामा संसदीय दल नेता रहेका सुरेन्द्रराज पाण्डेको दुई वर्षे कार्यकाल गत २० फागुनदेखि सकिएको हो । त्यसयता राष्ट्रियसभातर्फ संसदीय दल नेता खाली थियो । पाण्डे तथा प्रमुख सचेतक सरिता प्रसाईंसहित ९ सांसदको पदावधि सकिएको हो ।

हाल कांग्रेसबाट राष्ट्रियसभामा ६ मात्र सांसद बाँकी छन् । वरिष्ठ अधिवक्ता अधिकारीले यसअघि संविधानसभा सदस्य तथा अन्तरिम संविधान २०६३ का मस्यौदाकारको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् ।