चालीस नेपालीलाई ‘युएईले बाँडेको मुस्कान

बिहिबार, २९ फाल्गुन २०७६

काठमाडैं–युएईमा रहेका ४० जना नेपालीको कथा समेटिएको पुस्तक ‘युएईले बाँडेको मुस्कान’ बजारमा आएको छ। बुलबुल पब्लिकेशन प्रा।लि।ले बजारमा ल्याएको पुस्तकलाई जे। सागर र रामप्रसाद ढुङ्गेलले सम्पादन तथा सङ्कलन गरेका हुन्।

पर्यटन, रोजगारी वा व्यवसायलगायतका विभिन्न कामका लागि संयुक्त अरब ईमिरेट्स युएई पुगेर कम्तीमा तीन वर्षदेखि तीन दशकसम्म त्यहाँ बस्दै अएका नेपाली नागरिकको कथालाई उक्त पुस्तकमा समेटिएको छ।

प्रायः युएईमा नेपालीले शारीरिक परिश्रम गर्ने, सेक्युरिटी वा चालकको रूपमा मात्रै काम गर्ने भन्ने सोचिन्छ। यसले पनि नेपालबाट काम गर्नकै लागि डाक्टर, नर्स, पाईलट, बैंकरलगायतका प्राविधिक जनशक्ति युएई जाने गरेको पाइँदैन।

तर, युएईमा रहेका नेपालीले गर्ने काम शारीरिक श्रम मात्र होइन, हस्पिटालिटी क्षेत्रमा पनि राम्रो अवसर र मौका पाएका छन् भन्ने कुरा यस पुस्तकमा समावेश छ।

आम नेपालीले अरबलगायतका मुलुकमा गरिरहेको श्रम र उनीहरूको कथालाई समेटेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बताउँछन्।

‘कृतिमा अरबलगायतका मुलुकमा श्रम सिञ्चिरहेका आम नेपालीले भोगिरहेका पीडा, दुःख र वेदनालाई चित्रण गरिएको छ,’ पुस्तकमा शुभकामना स्वरूप परराष्ट्रमन्त्रीले लेखेका छन्, ‘रेमिट्यान्समार्फत् सिंगो मुलुकको समृद्धि र हामी सबै नेपालको मुहारमा फक्रँदै गरेको खुसीको प्रस्तुति किताबमा छ।’

धेरै नेपालीले युएईमा मजदुरीको काम मात्रै गरेर बसेका छन् भन्ने भ्रमलाई यस पुस्तकले चिर्ने युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले लेखेका छन्।

‘ठूलाठूला उद्योग सञ्चालन गरेर, सयौँलाई रोजगारी दिएर बस्नेहरू पनि छन्,’ उनले लेखेका छन्, ‘विदेशी कम्पनीको उच्च जिम्मेवारी सम्हाल्नेदेखि ईन्जिनियर र प्राध्यापकहरू पनि छन्। यो पुस्तकमा तिनै नेपालीको कथालाई समेटिएको छ।’

पुस्तकले युएईको यथार्थ र सकारात्मक पाटाहरू देखाउनु मात्रै नभएर सुरक्षित वैदेशिक रोजगारीका लागि जनचेतना जागृत गर्ने र सफलताका लागि उत्प्रेरणा दिने कथालाई पनि स्थान दिएको छ। त्यहाँ गएर काम गर्दा सिकेका सिप, भोगाइ र अनुभवलाई पुस्तकमा कथाका रूपमा प्रस्तुत गरिएको छ।

बुलबुल पब्लिकेसनका निर्देशक अच्युत घिमिरेले पुस्तकमा विशेषता भएको लेख्छन्।

‘युएईमा भएका सबै नेपालीको कथा भन्न पुस्तक अपर्याप्त होला,’ उनले पुस्तक परिचयमा लेखेका छन्, ‘तर, धेरैमा हुने समानतालाई पुस्तकले समेटेको छ। सबैजनाको कथाभित्र इमानदारिता देखिन्छ।’

३२५ पृष्ठको पुस्तकको मूल्य नेपाली रूपैयाँ ३३५ तोकिएको छ।