प्रधानमन्त्री ओलीसँग बालुवाटारमा नेकपा नेताहरुको भेटवार्ता
काठमाडैं मिर्गौलाको प्रत्यारोपणपछि बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेटेका छन् । अध्यक्ष दाहाल प्रधानमन्त्री ओलीलाई भेट्न शनिबार बालुवाटार पुगेका हुन् ।
मिर्गौला प्रत्यारोपण गरी शुक्रबार साँझ बालुवाटार फर्किएका हुन् । प्रत्यारोपण पछि अध्यक्ष दाहालले पहिलो पटक प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।
यसअघि प्रधानमन्त्री ओलीसँग नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवम् नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल लगायतले भेटेका छन् ।
प्रधानमन्त्रीसँग श्रेष्ठ सहित नेताहरुले सामुहिक भेटवार्ता गरेका हुन् । नेताहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस रोकथामबारे चासो दिएका थिए । स्वास्थ्य मन्त्री ढकालले हिमाल खबरसँग भने, “प्रधानमन्त्रीले कोरोना भाइरस रोकथामबारे चासो लिनुभयो । उहाँको जोड विशेष अस्पतालबारे छ ।”
प्रधानमन्त्री ओलीले रोकथामको प्रयासबारे बुझेका थिए । “पूर्व तयारीमा जोड दिनुभयो । यदि, कोरोनाको संक्रमण देखिहालेमा त्यसका लागि विशेष अस्पताल तयार पार्नुपर्नेमा प्रधानमन्त्रीको चासो छ”, मन्त्री ढकालले भने ।
२०६४ साउनमा भारतको एपोलो अस्पतालमा पहिलो पटक प्रधानमन्त्री ओलीले मिर्गौलाको प्रत्यारोपण गराएका थिए । तर, उक्त मिर्गौलाले काम गर्न छोडेपछि झण्डै एक वर्ष देखि प्रधानमन्त्री ओली नियमित डायलासिस गराउँदै आएका थिए ।
गएको भदौमा सिंगापुरमा स्वास्थ्य परीक्षण गरी फर्किए पछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नियमित डायलासिस गराएका प्रधानमन्त्री त्यही मिर्गौला प्रत्यारोपण गराएका हुन् ।