साढे २ रुपैयाँ पर्ने मास्कलाई ५० रुपैया १ ७८ हजार मास्कसहित ८ पक्राउ
काठमाडौं– कालो बजारी गर्न लुकाएर राखिएको ७८ हजार सर्जिकल मास्कसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र स्वयम्भुको संयुक्त टोलीले काठमाडौंको डब्लुबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा महाकाल मञ्जुश्री टे«डर्सका सञ्चालक मिन्टु तामाङ, अनिश कार्की, उज्ज्वल अधिकारी, मानकाजी लामा, थुमराज उपाध्याय, नृप कार्की, गणेश तामाङ र शिव खड्का छन् ।
उनीहरूको साथबाट ७८ हजार सर्जिकलम मास्क बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।
साढे २ रुपैयाँ पर्ने मास्कलाई ५० रुपैयाँ
महानगरीय प्रहरी वृत्तका स्वयम्भूका डीएसपी लालध्वज सुवेदीका अनुसार कोरोना भाइरस संक्रमणको त्रास फैलिएका बेला कालोबजारी गर्ने गिरोह सक्रिय भएका हुन् । प्रहरीलाई शनिबार मास्कको कालोबजारी गर्न थालेको सूचना पुगेको थियो ।
मञ्जुश्री सप्लायर्सबाट बरामद भएको सर्जिकल मास्क प्रतिगोटा भ्याटसहित २ रुपैयाँ ५२ पैसा पर्छ । डीएसपी सुवेदीका अनुसार एक प्याकेटमा ५० सर्जिकल मास्क हुन्छन् । जुन प्याकेटको भ्याटसहितको बजार मूल्य १२६ रुपैयाँ पर्न जान्छ । बजारमा फार्मेसीलगायतले कोरोना भाइरसको त्रासअघि ५ देखि १० रुपैयाँसम्ममा बेच्दै आएका थिए । तर कोरोनाको हल्लापछि बजारमा सहजै मास्क पाइन छाडेको छ ।
डीएसपी सुवेदीका अनुसार पक्राउ परेका अनिश र शिवले उज्ज्वलसँग मास्क किन्ने सहमति गरे । उज्ज्वलले प्रतिगोटा सर्जिकल मास्क २८ देखि ३१ रुपैयाँका दरले भनेजति उपलब्ध गराइदिने वाचा गरे । उनीहरूबीच सहमति भयो तर उज्ज्वल आफैं व्यापारी भने थिएनन् । उनले कमिसन खाएर मास्क बेच्ने योजना बनाएका थिए । उज्ज्वलले नृप र थुमराजसँग मास्कको ‘डिल’ गरे । उज्ज्वलले अनिश र थुमराजसँग सर्जिकल मास्क प्रतिगोटा २६ रुपैयाँमा किन्ने सहमति गरे । उज्ज्वल २६ रुपैयाँमा किनेको मास्क २८ देखि ३१ रुपैयाँका दरले अनिश र शिवलाई बेच्ने पूर्वयोजना थियो । गिरोहबीच सहमति भएपछि उनीहरू मास्क लिन मञ्जुश्री सप्लायर्स पुगेका थिए । त्यही क्रममा सबैलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार ३१ रुपैयाँसम्मका किनेको मास्क उनीहरूले ५० रुपैयाँसम्ममा बेच्ने योजना बनाएका थिए ।
एसएसपी सुवेदीले खाद्यान्य औषधिजन्यलगायत वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने भण्डारण गरी लुकाएको वा र कालोबजारी गरेको सूचना भए खबर गर्न सर्वसाधारणमा आग्रह गरेका छन् ।