असिनाले तरकारी र गहुँबालीमा क्षति

आइतबार, २ चैत्र २०७६

बैतडी– बैतडीका विभिन्न स्थानमा शनिबार दिउँसो परेको असीनापानीले गहुँबाली तथा तरकारीबालीमा क्षति पुर्‍याएको छ। जिल्लाको सदरमुकाम क्षेत्र, तल्लोसोराड क्षेत्रमा असीनाले बढी क्षति पुर्‍याएको किसानले बताएका छन् ।

असिनाले गहुँबालीमा व्यापक क्षति पुर्‍याएको मेलौली नगरपालिका ५ का वडा अध्यक्ष बलभद्र दयालले बताए । उनले भने ,ुअपरान्ह ४ बजेतिर परेको असिनाले गहुँबालीमा व्यापक क्षति पुर्याएको छ । यसबाट किसानलाई ठूलो समस्या भएको छ ।ु

सिन्दुरे रोगले गहुँबाली सखाप भइरहेका बेला असिनाले थप नष्ट पार्दा किसान मारमा परेका हुन् यस्तै, असिनाले तरकारीबालीमा समेत क्षति पुर्‍याएको छ। भर्खरै उम्रन लागेको लहेर तरकारीका बिरुवा असिनाले नष्ट गरेको किसान चिन्तामणी भट्टले बताए ।

खास गरी हिउँदे फलफूलका बिरुवामा अहिले फूल फुल्ने समय हो। तर असिनाले क्षति पुर्याउँदा फलफूलको उत्पादनमा कमी आउने सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्रमुख डम्मरसिंह भाटले बताए ।