उद्योग वाणिज्य महासंघको चुनाव नसर्ने

आइतबार, २ चैत्र २०७६

 

काठमाडौं –नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा नसर्ने भएको छ ।

महासंघको चैत २८ र २९ गते नै काठमाडौंमा साधारणसभा हुने भएको हो । कोरोना भाइरसका कारण सभा सम्मेलन नगर्न÷नगराउ सरकारले आह्वान गरेपछि महासंघको चुनावी साधारणसभासमेत प्रभावित हुने आंशका व्यक्त गरिएको थियो ।

महासंघभित्रै पनि साधारणसभा सार्नुपर्ने र सार्न नहुने विषयमा मतभेद भने देखिएको छ । तर, कोरोनाको संक्रमण देशमा नफैलिएको र आत्तिनुपर्ने अवस्था नभएको सरकारकै भनाई रहँदै आएका बेला साधारणसभा सार्न नहुने पक्षमा महासंघ देखिएको हो ।

महासंघको शुक्रबार बसेको स्थायी समिति बैठकले प्रदेशको साधारणसभा सार्ने निर्णय गरे पनि केन्द्रीय साधारणसभा सार्ने विषयमा कुनै निर्णय गरेको छैन । एक स्थायी समिति सदस्यका अनुसार केन्द्रीय साधारणसभा सार्ने विषयमा कुनै निर्णय नभएको भन्दै साधारणसभा नसर्ने बताए । “महासंघकै साधारणसभा सार्दा कोरोनाको संक्रमण नभएपनि संक्रमण रहेको भन्ने गलत सूचना जान सक्छ,” उनले भने, “अहिलेको अवस्थामा साधारणसभा सर्दैन्, तोकिएकै समयमा हुन्छ ।” कोरोनाको संक्रमण फैलिएर असहज परिस्थिती बनेको अवस्थामा महासंघले पनि सोच्न सक्छ, तर अहिले नै साधारणसभा रोक्ने पक्षमा महासंघ छैन, उनले भने ।

यता, साधारणसभा सार्न गृह मन्त्रालयले पनि महासंघलाई केही भनेको छैन् । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले कुनै पनि निश्चित कार्यक्रमलाई तोकेर रोक्न नभनेको बताए । उनले सरकारले संक्रमण हुन सक्ने तर्फ सचेत बन्न सबैलाई आग्रह गरेपनि महासंघलाई साधारणसभा नगर्न नभनेको जानकारी दिए ।

महासंघले प्रदेशको साधारणसभा सार्ने निर्णय गर्दै केन्द्रिय साधारणसभा भएको एक महिनाभित्र प्रदेशको साधारणसभा गर्ने निर्णय भने गरिसकेको छ ।