अझैं रोकिएन एलआईसी नेपालको ठगी धन्दा
काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी नेपाल) को ठगी धन्दा अझैं रोकिएको छैन । मोटिभेट न्यूज डटकमले एलआईसी नेपाललाई बारम्बार सजक गराउँदा पनि उसले जनतालाई भ्रममा पार्दै ठगी गरिरहेको छ ।
उसको पछिल्लो बोनस दरलाई लिएर जनतालाई भ्रममा पार्दै ठगी गरेको हो । भारतीय बीमा कम्पनी एलआईसी नेपालले आर्थिक बर्ष २०७४/०७५ को बोनस दरलाई लिएर भ्रामक प्रचार गर्दै जनता आक्रर्षण गरिरहेको छ । यो उसको जनता फसाउने प्रपन्च हो । २०७४ साउनदेखि २०७५ असार मसान्तसम्म बीमा गरेका बीमितहरुका लागि तय भएको उक्त बोनस दरलाई लिएर उक्त कम्पनीले २०७६/७७ सालको जसरी प्रचार गरिरहेको छ । पछिल्लो पटक पत्रिकामा सार्वजनिक भएको उसको विज्ञापन हेर्दा ठग्ने नियत स्पष्ट देखिन्छ ।
उसले गर्ने यस्ता खालका विज्ञापनहरुमा कत्ति पनि नझुकिन बीमा क्षेत्रका विज्ञहरुले जनतालाई सुझाव दिएका छन । २०७५/७६ र ७६/७७ मा कति बोनस तय हुने हो कसैलाई पनि थाहा छैन । उसले पुरानो बोनसदरलाई देखाएर कम्पनीले जनतालाई ठग्ने मात्र होईन उसका अभिकर्ताहरु समेत समस्यामा पार्ने देखिन्छ ।
यदी कुनै बीमितले बोनस दरलाई हेरेर बीमा गरेको रहेछ र २०७५/७६ मा बोनस घट्यो भने यसको जिम्मा कसले लिने ? ७६/७७ मा घट्यो भने अवस्था के होला ? जनताले कम्पनीका अभिकर्ता प्रति विश्वास गरेर बीमा लेख किन्ने र त्यही अनुसारको प्रतिफलको आशा गर्ने भएकाले बोनस दर घटेको समयमा कम्पनी भन्दा बढि अभिकर्तालाई समस्या पर्नेछ । किनकी जनता प्रति कम्पनी भन्दा बढि अभिकर्ता उत्तारदायी हुनपर्ने हुन्छ ।
बीमितले चिनजान भएका अथवा आफन्तबाट बीमा लेख किन्ने गर्दछन । विश्वासले ठुलो लगानी गरेका जनताले नजिकको अभिकर्ता बाटै धोका पाएको महशुस गर्दै सम्बन्धमा समेत दरार आउने बीमा बिज्ञको भनाई छ । यस विषयमा कम्पनीसँग बुझ्न खोज्दा कम्पनीका सूचना अधिकारी विनोद भुजेलले फोन उठाएनन् भने एसएमएसको पनि उत्तर फर्काएका छैनन् ।
अबैध रुपमा काम गरिरहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत र आइटी म्यानेजर जनतालाई भ्रममा पार्दै नेपालमा गैरकानुनी धन्दा पनि गरिरहेका छन । उनीहरुको कर्तुतको प्रमाण सहितको विशेष सामाग्री केही दिनमा हेर्न सक्नुहुनेछ । हामीले १५ दिन लगाएर उक्त सामाग्री तयार पारेका छौं ।
