प्रेरक प्रसंग : बादसाहलाई मुख्यमन्त्री चयनमा सकस

मंगलबार, ४ चैत्र २०७६

काठमाडौं – आफ्ना मुख्यमन्त्रीले अवकाश लिएपछि बादसाहले रिक्त पदमा नयाँ नियुक्तिका लागि आवेदन खुलाए । आफूलाई मुख्यमन्त्री पदका लागि योग्य ठान्ने सयौँ उम्मेदवारले आवेदन दिए । उनीहरू सबैको अनेक चरणका परीक्षा लिइयो । अनेकौँ चरण पार गरिसक्दा अन्तिममा जम्मा तीन उम्मेदवार बाँकी भए । अब, बादसाहले यिनै तीन आवेदकमध्येबाट आफ्ना मुख्यमन्त्री चयन गर्नु थियो ।

तीनै आवेदकलाई बादसाहले पालैपालो आफ्नो कार्यकक्षमा बोलाए र सबैलाई एउटै प्रश्न सोधे, ‘मानौँ दुर्भाग्यवश तिम्रो र मेरो दारीमा एकसाथ आगो लाग्यो भने तिमी के गर्छौ ? पहिलो उम्मेदवारले भने, ‘बादसाह हजुर, पहिले म हजुरको दारीको आगो निभाउँछु । अनि मात्र आफ्नो दारीको आगो निभाउनेछु ।’

बादसाहले दोस्रो उम्मेदवारलाई पनि कार्यकक्षमा बोलाएर उही प्रश्न गरे । उनले जवाफ दिए, ‘सरकार, म पहिले आफ्नो दारीको आगो निभाउँछु ।’ त्यसपछि तेस्रो उम्मेदवारको पालो आयो । उनलाई पनि सोही प्रश्न सोधियो । उनले बादसाहलाई जवाफ दिए, ‘बादसाह हजुर, यदि यस्तो दुर्भाग्यले एकसाथ हामी दुवैलाई घे¥यो भने त्यतिखेर म एक हातले आफ्नो दारीमा लागेको आगो निभाउनेछु भने अर्को हातले हजुरको आगो निभाउनेछु ।

त्यसपछि बादसाहले तीनैजनालाई एकसाथ भित्र बोलाएर भने, ‘मैले तिमीहरू तीनैजनालाई एउटै प्रश्न सोधेको थिएँ । तिमीहरू तीनैजनाबाट फरक–फरक जवाफ आयो । जसले पहिले मेरो दारीको आगो निभाउने दाबी ग¥यो, ऊ आफ्नो आवश्यकतासमेत बुझ्न नसक्ने अत्यन्त अबुझ हो । जसले पहिले आफ्नो मात्र भलाइ खोज्छ, ऊ स्वार्थी हो । र, जसले आफ्नो आवश्यकता पूरा गर्दै एकसाथ अन्यको भलाइ पनि गर्न सक्छ, ऊ बुद्धिमान् हो ।’

अन्ततः बादसाहले तेस्रो उम्मेदवारलाई आफ्नो मुख्यमन्त्री पदमा नियुक्त गरे । नयाँ पत्रिकाबाट