कोरोनाको त्रासः घर फर्किँदै नेपाली
कर्णाली –प्रदेशका विभिन्न जिल्लाका मानिसहरु रोजगारीका लागि भारतको कालापहाड, सिमला, प्रयाग, हरिद्वारलगायतका ठाउँमा जाने गर्दछन् ।
चाडबाड मनाएर काम गर्न गएका उनीहरु कोरोनाको त्रासले गर्दा चाडै नै फर्किएका छन् । कात्तिक अन्तिम या मंसीरमा गएका उनीहरु बर्खामा खेती लगाउन आउने गर्दथे । विश्वमै कोरोनाको त्रास बढ्दा भारतका विभिन्न ठाउँमा पुगेका नेपालीहरु डरले गर्दा घर फर्किएका हुन् ।
नेपालगञ्ज नाकाबाट घर फर्किनेको चाप बढेको छ । कामका लागि सिमला पुगेका दैलेखका घनश्याम सुनारले कोरोनाको डर फैलिएकाले गाउँ नै सुरक्षित हुने ठानेर घर फर्किएको बताए ।
नेपालगञ्ज नाकाबाट यतिबेला ठूलो संख्याका नेपालीहरु घर फर्किरहेका छन् । इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज माधव रिजालले नेपालीहरु घर फर्किने चाप बढेको बताए ।
‘दैनिक ठूलो संख्यामा फर्किरहेका छन् । कोरोनाका कारण हो, रिजालले भने, घर फर्किने नेपालीलाई टाँगाले नठगोस् भनेर हामी सजग भएका छौं ।’
रुपैडिहाबाट टाँगामा चढेर फर्किरहेका नेपालीलाई जमुनाहामा प्रहरीले ‘कति भाडा तिर्नु भयो भनेर सोध्ने गरेको छ । दसैँ र तिहारको बेलामा हुने भीडभाडका क्रममा प्रहरीले यसरी सोधपुछ गर्ने गर्दथ्यो । कोरोनाले गर्दा नेपालीको चाप बढेपछि यस्तो बेलामा पनि ठगिन सक्ने ठानेर प्रहरीले जाँचसँगै भाडा सोध्ने गरेको छ ।
रुपैडिहाबाट नेपालगञ्जसम्म आउने टाँगाको एउटै मूल्य छैन । कसैले प्रतिव्यक्ति ८०, सयदेखि हजार रुपैया लिएको पाइन्छ । ८० देखि सय रुपैया लिएकालाई प्रहरीले ठिकै हो भनेर छोडिदिने गरेका छ । इन्चार्ज रिजालले रुपैडिहाबाट नेपालगञ्जसम्म एक हजार रुपैयाँसम्म लिइदिएको पाइएकाले सोधपुछ गर्ने गरेको बताए ।
पहाडी जिल्लाका नेपालीलाई रुपैडिहादेखि नेपालगञ्जसम्मको भाडा थाहा हुँदैन । टाँगा सञ्चालकले जति भन्यो उति नै दिने गर्दछन् । कतिपय टाँगावालाले बढी भाडा लिने र प्रहरीले सोध्दा कम भन्न लगाउने गर्दछन् ।
भारतबाट फर्किएका प्रायः नेपालीले मुखमा माक्स लगाएका छन् । भारतका विभिन्न शहरमा कोरोनाको संक्रमण देखिदा नेपालीहरु डराएर फर्किरहेका छन्