प्रचण्डको कविता : दुःखी झोला
काठमाडौं –

लेखक प्रचण्ड गौतम
हरेक साझँ दुःख विर्सने प्रयासमा
खुशीको व्यापार गर्न
पस्ने गर्छ भट्टिमा एउटा बूढो मान्छे !
सधैँ ऊ सुनाउँछ आफ्नै कथा, आफ्नै व्यथा
कुरा गर्छ नदेखिएको सपनाको चुरोटको धुवाँसँग
दुःख सुख, सकस पिर, छटपटी
पोको बनाएर एउटै झोलामा
नापिरहेको हुन्छ सधैँ त्यो चिसो सडक
खोजिरहेको हुन्छ
चिरा–चिरा परेको पैतालाले गन्तव्य !
अनुहारसँगै चाउरिसके
उसका सबै चाहना अनि रहरहरु
तर किन देखिँदैनन्
त्यो ऎनामा चम्किला ताराहरु ?
सधैँ सुनाउँछ ऊ, आफ्नै कथा, आफ्नै व्यथा मात्र
न छोराछोरी आउँछन् न नातीनातिना नै
न आउँछन् कुनै वसन्तमा झैँ स्वास्नीमान्छेहरु
अचेल
कोहीपनि आउँदैनन्
एउटा चाउरिएको बूढोको दुःखको झोला बोक्न
बस्
एक्लै एक्लै
कहिलेकाहीँ त ऊ गुनगुनाउँछ पनि
‘कति बोक्नु यो दुस्खको झोला ?’
बरु मिल्काइदिऊँ !
जस्तो पनि गर्छ
एक अगाँलो यादलाई सुमसुम्याउँछ पनि
एक तमासले रुन्छ पनि कुहु कुहु बूढो मान्छे
पागल झैँ बरबराउँछ कहिले
कल्पिन्छ–
खोलेर दुःखको पोको
छटपटी स्वास्नीमान्छेहरुलाई दिन्छ
पिडा छोरा–छोरीलाई दिन्छ
खुशी लुकाएर दिन्छ नाती–नातिनालाई
र
बग्छ आफू नदी भएर
कहिल्यै किनारमा नअल्झिने गरी
कहिल्यै किनारमा नअल्झिने गरी