भारत नजान सरकारको आग्रह
धनगढी – सरकारले नेपाली जनतालाई भारत जानबाट रोक लगाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले कम्तीमा एक सातासम्म भारत नजान आग्रह गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार रातिसम्म मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको कोरोना भाइरस नियन्त्रण तथा निर्देशक समितिले सुदूरपश्चिम प्रदेशका सीमा नाकाबाट कम्तीमा एक हप्तासम्म भारत नजान आग्रह गर्ने निर्णय गरिएको हो ।
बैठकमा एक सातासम्म भारत नजान सबैमा आग्रह गर्ने, सीमा नाकामा स्थापना गरिएका स्वास्थ्य सहायता कक्षलाई थप प्रभावकारी बनाउने निर्णय भएको बताइएको छ । त्यस्तै बैठकमा कोरोना भाइरसको सङ्क्रमण फैलिएमा उपचारका लागि आवश्यक पर्ने पूर्वतयारीका विषयमा समेत छलफल भएको थियो ।
मुख्यमन्त्री भट्टले कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक कदम चाल्न सरोकारवालालाई निर्देशन दिए । प्रदेशस्तरीय कोरोना नियन्त्रण समितिका अध्यक्षसमेत रहेका मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा कोरोना सम्भावितका लागि उच्च निगरानी कक्ष थप्ने निर्णय भएको बताए।