लमजुङकी अर्की महिलामा कोरोना पोजेटिभ, कोरोना पुष्टी भएपछि लेखिन भावुक स्टाटस
लन्डन – बेलायतमा बस्ने अर्की एक नेपाली महिलामा कोरोना भेटिएको छ । लमजुङ घर भइ बेलायतमा बस्दै आएकी भगवती रानाभाटमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो । उनी बेलायतमा समाजसेवीको रुपमा समेत परिचित छिन् ।
आइतबार फेसबुकमा स्टाटस राख्दै उनले आफूलाई कोरोनाको संक्रमण पुष्टि भएको बताएकी छिन् । उनले भनेकी छन्, ‘यो महामारी कति पीडादायक हुँदोरहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँटकाट छैन । फेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो, तर सोचें सबैले सावधानी अपनाउनुहुनेछ । सबैलाई विशेष सावधान रहन अनुरोध गर्दछु ।’
शुक्रबारदेखि उनी लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचाररत छिन् । यसअघि १० दिन उनी घरमै आइसोलेसनमा रहेको बताइएको छ ।
गत मार्च ८ तारिखका दिन उनी लन्डनको भेन्यू फाइभमा आयोजित अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा सहभागी भएकी थिइन् । त्यसपछि बिरामी परेकी उनी घरमै आइसोलेसनमा रहेको भएपनि शुक्रबार भने अस्पताल नै भर्ना भएपछि कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनलाई संक्रमण भएपछि श्रीमान् सहित परिवारका अन्य सदस्यलाई आइसोलेसनमा राखिएको बताइएको छ ।
