सरकारको निर्णय अटेरी गर्दै चार विमान नेपाल भित्रिए, किन आए जवरजस्ती ?

सोमबार, १० चैत्र २०७६

काठमाडौं – सरकारले गएराति १२ बजेदेखि अन्तर्राष्ट्रिय जहाजलाई नेपाल आउन रोक लगाएको थियो । रोकेको पहिलो दिनमा नै चार वटा विमान त्रिभुवन विमानस्थलमा अवतरण भएका छन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलमा विभिन्न देशबाट आएर अवतरण गरेका विदेशी एयरलाइन्सहरु रित्तो आएका हुन । उनीहरु आफ्ना नागरिकलाई लिन र केही कार्गो विमान रहेको प्राधिकरणले जनाएको छ ।

यी विमानले सरकारसँग विशेष अनुमति लिएर नेपालबाट यात्रु लगिरहेको त्रिभुवन विमानस्थलको नेपाल नागरिक कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए । ‘अहिले आकस्मिक रुपमा आउने, कार्गो लिएर आउने र मान्छे नबोकी रित्तो आउने विमान मात्रै विमानस्थलमा बस्न पाउँछन्,’ उनले भने,’३१ मार्चको मध्य राति १२ बजेसम्म यात्रु लिएर आएका विमान यहाँ ओर्लिन पाउँदैनन् ।’

कर्णले सरकारी निर्णयअनुसार अन्तर्राष्ट्रिय हवाई सेवा अन्तरगत यहाँबाट यात्रु लिएर जान निषेध नगरिएको बताए । यसैका कारण कतिपय एयरलाइन्सले नेपालबाट बाहिरिने यात्रुलाई सेवा दिइरहेका छन् । यसरी सेवा दिन नेपाल भित्रिने विमान खाली हुनै पर्छ । नत्र एयर ट्राफिक कन्ट्रोलरले अवतरणको अनुमति दिँदैन ।