कोरोना संक्रमण झन तिव्र, डब्ल्यूएचओका प्रमुखले दिए कडा चेतावनी

मंगलबार, ११ चैत्र २०७६

काठमाडौं – विश्वभर कोरोनाको संक्रमण झन तिव्र गतिमा फैलिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोनाको पहिलो संक्रमण भेटिएको ६७ दिनपछि एक लाखमा संक्रमण पाइएको थियो । दुई लाख पुग्न अर्को ११ दिन लाग्यो भने चार दिनमै संक्रमितको संख्या तीन लाख नागेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरस संक्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको भन्दै सचेत रहन आग्रह गरेका छन ।

टेड्रोसले महामारी नियन्त्रणका लागि परीक्षणलाई तीव्रता दिनुपर्ने र मानिसबीचको सम्पर्कलाई थप कडाइ गर्नु पर्नेमा जोड दिएका छन्। संसारभर तीन लाखभन्दा धेरैमा संक्रमण पाइएको भन्दै उनले अझैपनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताएका छन्।

उनले विश्वका गरिब देश तथा जोखिममा रहेका मानिस यो भाइरसबाट सबभन्दा नराम्ररी प्रभावित हुने चेतावनी दिएका छन्। विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमणलाई विश्वव्यापी महामारी को संज्ञा यसअघि नै दिइसकेको छ।

विश्व स्वास्थ्य सङ्गठनले मानिसहरूको हिँड्डुल नियन्त्रणमा मात्र भर नपर्न भनेको छ। ‘प्रत्येक सङ्क्रमण परीक्षण गरेर तथा सङ्क्रमित व्यक्तिको सम्पर्कमा भएका अन्य व्यक्तिलाई अलग्याउनु यो भाइरसविरुद्धको लडाइँमा महत्त्वपूर्ण हुन्छ,’ टेड्रोसले भनेका छन्।