कसले बनायो विश्वलाई आक्रान्त पार्ने कोरोनाभाइरस ? बैज्ञानिकले पत्ता लगाए नयाँ तथ्य
एजेन्सी – कोरोनाभाइरसको महाव्याधिले विश्वव्यापी आतंक मच्चाइरहँदा धेरैको मनमा उठेको एउटै प्रश्न होः कसले बनायो कोरोनाभाइरस? ‘कन्स्पिरेसी थ्योरी’ अर्थात् षड्यन्त्रको सिद्धान्तमा विश्वास गर्ने कतिपयले कतिपसम्म भन्न भ्याए भने, कोरोनाभाइरस ल्याबमा उत्पादन गरिएको भाइरस हो, यो विकसित राष्ट्रहरुको जैविक हतियारको एउटा अंग नै हो ।

अनुसन्धानकर्ताहरुले यो नोबल कोरोनाभाइरसको जिनोम (Genome) लाई मानिसलाई नै संक्रमित गर्ने अन्य सात वटा कोरोनाभाइरसहरुको जिनोमसँग तुलना गरेर अध्ययन गरेका थिए । त्यसक्रममा उनीहरुले नोबेल कोरोनाभाइरस पनि प्रकृतिक प्रक्रियाबाट नै उत्पत्ति भएको फेला पारेका थिए ।
अनुसन्धानकर्ताहरुले कोरोनाभाइरसको स्पाइक प्रोटिन (spike proteins) हरुको विश्लेषण गरेका थिए । यो प्रोटिनले भाइरसलाई आफ्नो शिकारको कोषमा बाँधिन र संक्रमित तुल्याउन सहयोग गर्छ । उनीहरुले यो स्पाइक प्रोटिनको पनि मुलतः दुईवटा पक्षहरुको अध्ययन गरेका थिए । तीमध्ये पहिलोमा रिसेप्टर बाइन्डिङ डोमेन (Receptor-Binding Domain (RBD)) थियो । यो स्वस्थ कोषमा बाँधिएर वा टाँसिएर बस्ने गर्छ । दोस्रोमा चाहिँ क्लिभेज साइट (Cleavage site) थियो । यसले चाहिँ भाइरसलाई आफ्नो शिकारको कोषलाई खोल्न र छेडेर भित्र पस्न सहयोग गर्छ ।

मानिसको कोषमा बाँधिनको लागि भाइरसको स्पाइक प्रोटिनहरुलाई मानिसको कोषमा एउटा ग्रहण गर्ने भाग (receptor) को आवश्यकता पर्दछ । यो रिसेप्टरलाई एजियोटेन्सिन कन्भर्टिङ एन्जाइम २ (Angiotensin-Converting Enzyme 2 (ACE2) भनिन्छ ।
नोवेल कोरोनाभाइरस मानिसको यो एसीइ२ रिसेप्टमा गज्जबैसँग बाँधिएर बस्न सक्छ । यो भनेको प्रकृतिबाट सिर्जित भाइरसमा मात्रै हुन सम्भव छ । त्यस्तो गुण मानिसले प्रयोगशालामा निर्माण गरेको भनिएको भाइरस वा जेनेटिक इन्जिनियरिङको माध्यमबाट बनाइएको भाइरसमा हुन सम्भव छैन ।
अनुसन्धानकर्ताहरुले नोबेल कोरोनाभाइरसको आधार (backbone) लाई तुलना गर्दा उनीहरुले यो कोरोनाभाइरस समूहका अरु भाइरसहरुभन्दा अत्यन्तै फरक रहेको पनि पाए । अनुसन्धानकर्ताहरुले के तर्क दिएका छन् भने नयाँ कोरोनोभाइरस प्रयोगशालामा बनाइएको हो भने यो नयाँ भाइरसको मूल आधार पनि कोरोनाभाइरस समूहका अन्य भाइरसहरुसँग मिल्दोजुल्दो नै हुनुपर्ने थियो ।
अनुसन्धानकर्ताहरुले यो नोबेल कोरोनाभाइरस कसरी उत्पत्ति भयो भन्नेबारेमा दुईवटा सिद्धान्तहरु अघि सारेका छन् : पहिलो सिद्धान्तअनुसार, यो नयाँ भाइरस जनावरमा उत्पत्ति भएको हुन सक्छ । यो भाइरस मानिसमा सर्नुभन्दा पहिले जनावरलाई संक्रमित तुल्याउने खालको रुपमा विकसित भएको हुनुपर्छ । यही तरिकाले नै यसअघि सार्स सिभेज विरालो र मेर्स ऊँटबाट मानिसमा सरेको थियो । नयाँ भाइरसको केसमा, ती जनावरहरुमा चमेराबाटै कोरोनाभाइरस सरेको हुनुपर्छ । चमेराबाट ती जनावरहरुमा र ती जनावरहरुबाट मानिसमा यसअघि पनि कोरोनाभाइरसहरु (उदाहरणका लागि, सार्स, मेर्स) सरेको र अहिले पनि त्यही तरिकाले नोबेल कोरोनाभाइरस सरेको हुन सक्छ ।
यो सिद्धान्त सही हो भने अहिले पनि त्यो भाइरस जनावरहरु, अझ मूलतः चमेरामा एकापसमा सरिरहेको पनि हुन सक्छ । यो झनै खतरनाक स्थिति हो । किनभने, अहिले जस्तै फेरि पछि कुनै पनि बेला अहिले जस्तै महामारी विस्फोटक ढंगले फैलिन पनि सक्छ ।

दोस्रो सिद्धान्तले पनि यो भाइरस जनावरबाटै उत्पत्ति भएको स्वीकार्छ । तर यसले के मान्छ भने यो भाइरसले जनावरहरुमा चाहिँ कुनै रोग देखापरेको छैन । अर्थात् यो जनावर (मूलतः चमेरा) मा सुशुप्त वा निष्क्रिय अवस्थामा नै रहेको छ । तर जसै त्यो भाइरसले मानिसको कोषमा छिरेर बाँच्न सिक्यो, त्यसपछि चाहिँ त्यो रोग लगाउने किसिममा परिणत वा विकसित भएर आयो ।
पानगोलिन अर्थात् सालकमा पाइने कोरोनाभाइरसको स्पाइक प्रोटिनहरुमा नोबेल कोरोनाभाइरससँगै मिल्दोजुल्दो रिसेप्टर बाइन्डिङ डोमिनको संरचना पाइन्छ । मानिसमा कोरोनाभाइरस कसरी सर्यो भनेर अनुसन्धानकर्ताहरुले अघि सारेको पछिल्लो (दोस्रो सिद्धान्त) सही हो भने, नोबेल कोरोनाभाइरस पक्कै पनि सालकबाटै उत्पत्ति भएको पनि हुन सक्छ । सालकबाट त्यो भाइरस मानिसमा सरेको हो भने निकट भविष्यमा त्यसले फेरि अर्को नयाँ महामारी ल्याउने सम्भावना चाहिँ कमै छ । किनभने यो भाइरसले विकसित हुन र नयाँ शिकारलाई संक्रमित तुल्याउने गरी ग्रहण गर्न समय लाग्ने गर्छ ।
आशा र कामना गरौं, नोबेल कोरोनाभाइरस मानिसमा कसरी सर्यो भन्नेबारे अनुसन्धानकर्ताहरुले अघि सारेको पछिल्लो सिद्धान्त नै सही होस् ।
रातापाटीबाट साभार गरिएको यो सामाग्री साइन्स नेचर को हो ।