कोरोना संक्रमित युवतीसँग कतारबाट आएका विकमा कोरोनाको लक्षण देखियो

बिहिबार, १३ चैत्र २०७६

बुटवल – कतार एयरवेजको फ्लाईटमा कोरोना भाईरस संक्रमति युवतीसँगै आएका बाग्लुङ्कका एक जनामा कोरोनाको लक्षण देखिएको छ । गत चैत ४ नेपाल आएका अजय बिकमा रुघा खोकीको संक्रमण देखिएको छ ।

उनलाई केही दिनयता रुघाखोकीले आक्रान्त पारेको छ । उनी ढोरपाटन नगरपालिका वडा नम्वर ५ अधिकारीचौरस्थित आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बस्दै आएका छन् । उनका दुई घरमध्ये एउटामा श्रीमती छोराछोरी र अर्को घरमा बिक सेल्फ क्यारेन्टाईनमा बस्दै आएका हुन् ।

विहिवार बुतिबाङ्ग ईलाका प्रशासन कार्यालयका प्रमुख लोकबहादुर कुँवर, नेपाली काँग्रेस क्षेत्र नम्वर २ का क्षेत्रीय सभापति द्रोणबहादुर कुँवर, वुर्तिबाङ्ग प्राथामिक स्वास्थ्य केन्द्रका चिकित्सक केशव थापा लगायतका सरोकारवालाको टोली त्यहाँ पुगेको थियो । उक्त टोली संक्रमणबाट बच्ने स्वास्थ्य सामग्री उपलब्ध गराएर फर्किएको जनाइएको छ ।

विकले भने आफुलाई चिसोका कारण रुघाखोकी लागेको आशंका गरेका छन् । रुघाखोकीको बिरामी भएलगत्तै उनलाई छिमेकीहरुले समेत नमुना परीक्षणका लागि लगातार दवाव दिइरहेका छन् ।