कोरोना संक्रमित बाग्लुङकी युवतीलाई अस्पताल लगियो, कस्तो छ स्वास्थ्य अवस्था ?
बाग्लुङ – कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएकी १७ वर्षीया युवतीलाई अस्पताल लगिएको छ । बाग्लङको धौलागिरि अञ्चल अस्पतालमा उनको उपचार थालिएको छ ।
युवतीलाई कोरोना पुष्टि भएसंँगै अस्पतालको आइसोलेशन वार्डमा शनिबार भर्ना गराएर उपचार थालिएको अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बी पोखरेलले जानकारी दिए ।
‘संक्रमित किशोरीको अवस्था सामान्य छ, आत्तिनु पर्ने अवस्था छैन,’ डा पोखरेलले भने, ‘स्वाथ्यकर्मीकै प्रत्यक्ष निगरानीमा आइसोलेशनमा राखेका छौंँ, दैनिक रिपोर्ट लिन्छौँ, परिवारका सदस्यलाई यसअघि नै सेल्फ क्वारेन्टाइनमा बस्न भनिसकेका थियौँ, त्यस्तो लक्षण समस्या देखिए परिवारका सदस्यको पनि स्वाब परीक्षण गर्नेछौँ ।’
यही चैत १२ गते बागलुङ नगरपालिकाको विशेष पहलमा धौलागिरि अस्पतालका स्वास्थ्यकर्मीको टोलीले घरमै पुगेर नमुना संकलन गरेको थियो ।
ती युवतीले शुरुमा आफूलाई सामान्य ज्वरो आएको तर कठिन नभएकाले स्वास्थ्य परीक्षणसमेत गर्न आनाकानी गर्दै आएकी थिइन् । नमूना संकलन गरेर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौँ पठाइएको स्वाब परीक्षणमा शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।