सांसद आलेको विशेष पहल सार्थक : रोकियो दिपायलबाट प्रदेश प्रहरी कार्यालय र अस्पताल कैलाली सार्ने निर्णय
काठमाडौं । डोटीबाट प्रतिनिधिसभा सदस्य प्रेम आलेमगरको विशेष पहलमा डोटीको दिपायलबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल धनगढी कैलाली सार्ने काम रोकिएको छ ।
सांसद आलेमगरले गृहमन्त्री रामबहादुर थापा (बादल) गृह सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई कुनै पनि हालतमा ती कार्यालयहरु दिपायलबाट अन्यत्र नसार्न दवाव दिएपछि हाललाई सो काम स्थगित भएको हो ।
गृह मन्त्रालयबाट बिना लेखापढी र स्वीकृति नै नलिई अगाडि बढाईएको यो विषय कार्यान्वयन नहुने गृह सचिव महेश्वर न्यौपानेले मोटिभेटन्युजलाई बताए । सचिव न्यौपानेले भने,“यस विषयमा गृहमन्त्रालयमा कुनै लेखापढी र निर्णय भएको छैन, गृहले स्वीकृत दिनुपर्ने विषय स्वीकृति नै नलिई बिना कसरी कार्यान्वयन हुन्छ ? ”
प्रहरी प्रधान कार्यालय नक्शालले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रदेश प्रहरी अस्पताल दिपायलबाट कैलाली सार्न यहि चैत्र १७ गते परिपत्र गरेको थियो ।
ती कार्यालयहरु बिना जानकारी सुटुक्क सार्न लागेको आफूले थाहा पाएपछि सांसद आलेले गृहमन्त्री, गृह सचिव तथा प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीसँग समन्वय गरी उक्त काम रोक्न लगाएका हुन् ।
सांसद आलेले यिस कार्यमा सहयोग गर्ने गृहमन्त्री, गृहसचिव लगाएत प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्य, सचिवालय सदस्य दीपेन्द्र दाहाल, गृहमन्त्रीका स्वकीय सचिव प्रतिक थापालाई विशेष धन्यवाद दिएका छन् ।
मुलूक संघीय संरचनामा जाँदा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी कैलालीको धनगढीमा तोकिएको थियो भने प्रदेश सभाले यस प्रदेशको स्थायी राजधानी कैलालीकै गोदावरीमा तोकेको छ ।
सांसद आलेमगरले यो निर्णयले संघीयताको मूल मर्ममाथि नै प्रहार गरेको भन्दै विकासमा पछि परेका दुर्गम र पहाडी जिल्लामा रहेको कार्यालयहरु तराईका सुगम स्थानमा सार्नु कुनै पनि हालतमा युक्तिसंगत नहुने भन्दै सामाजिक सञ्जालमा समेत विरोध गरेका थिए । यस्तो निर्णयले स्थानीयहरुसमेत आक्रोशित भएको भन्दै उनले आलेले निर्णय यथासिघ्र सच्याउन आग्रह गरेका थिए ।