कोरोनाको शंका लाग्यो ? यी अस्पतालमा हुन्छ कोरोनाको उपचार (देशभरको लिष्ट)
काठमाडौं – सरकारले कोरोनासम्बन्धी उपचार गर्न सकिने देशैभरका अस्पतालको सूची सार्वजनिक गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचीमा काठमाडौंमा शुक्रराज ट्रफिकल तथा सरूवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, आयर्वेद रिसर्च सेन्टर र नेपाली सेनाको अस्पताल रहेको छ।
यस्तै प्रदेशहरूका अस्पताल पनि मन्त्रालयले सार्वजनिक गरेको छ। प्रदेश १ मा मेचि अस्पताल, उदयपुर अस्पताल र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा कोरोनाको उपचार हुने जनाएको छ ।
प्रदेश २ मा जनकपुर अस्पताल, बारा जिल्ला अस्पतालमा कोरोनाको उपचार हुनेछ ।
बागमती प्रदेशमा भक्तपुर अस्पताल, सिन्धुली अस्पतालमा उपचार हुनेछ भने गण्डकी प्रदेशको धौलागिरी अस्पताल, गोरखा अस्पतालमा उपचारको व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ ।
प्रदेश ५ को लुम्बिनी अस्पताल, तम्घास अस्पताल तथा कर्णाली प्रदेशको सुर्खेत अस्पताल र दैलेख जिल्ला अस्पतालमा उपचार हुनेछ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशका सेती अस्पताल, महाकाली अस्पतालहरुबाट सेवा लिन सकिने मन्त्रालयले जनाएको छ।
यस्तै, सातै प्रदेशभित्र रहेका प्रदेशस्तरीय ६३ वटा अस्पतालबाट पनि सेवा लिन सकिन्छ।
प्रदेश १ जिल्ला स्तरीय अस्पताल १३ वटा, प्रदेश नम्बर २ मा पाँच वटा, बागमती प्रदेशमा १० वटा, गण्डकी प्रदेशमा १० वटा, प्रदेश नम्बर ५ मा ९ वटा, कर्णाली प्रदेशमा ८ वटा, सुदुरपश्चिम प्रदेशमा ८ वटा अस्पताल छन्।
मेडिकल कलेजहरूबाट पनि सेवा लिन सकिनेछ।
वीपी कोइराला विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स चितवन, गण्डकी मेडिकल कलेज पोखरा, जानकी मेडिकल कलेज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौं मेडिकल कलेज, किष्ट मेडिकल कलेज, धुलिखेल अस्पताल, लुम्बिनी मेडिकल कलेज, मनिपाल मेडिकल कलेज, नेशनल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, नोबल मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल, युनिभर्सल मेडिकल कलेजमा पनि कोरोना सम्बन्धी उपचार गर्न सकिने मन्त्रालयले निकालेको सूचीमा उल्लेख छ।