प्रधानमन्त्री ओली पहिलो पटक सल्लाहकारको घेराबाट बाहिर निक्लिए, दिए ठाडो निर्देशन

बुधबार, १९ चैत्र २०७६

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक आफ्नो सल्लाहकारको घेरा तोडेर जनताको पक्षमा ठाडो निर्देशन दिएका छ । उनको ठाडो निर्देशनपछि ओम्नी समूहसँग भएको सम्झौता रद्द भएको छ ।

सल्लाहकारहरुले चीनबाट स्वास्थ्य उपकरण खरिद गर्नका लागि भएको सम्झौताबारे गलत ब्रिफिङ गर्दै निर्णय सही भएको प्रधानमन्त्रीलाई बताएका थिए । तर, सल्लाहकारको सो घेरा तोड्दै प्रधानमन्त्रीका एक विश्वासपात्रले स्वास्थ्य सामग्री खरिदमा ठूलो आर्थिक चलखेल भएको तथ्यसहित सविस्तार प्रधानमन्त्रीलाई जानकारी गराएपछि प्रधानमन्त्रीले एक्सन लिएको बालुवाटार निकट श्रोतको भनाई छ ।

उच्च स्रोतका अनुसार ओम्नी समूहलाई नियमविपरित चीनबाट सामान ल्याउने जिम्मा दिलाउन प्रधानमन्त्रीका केही सल्लाहकारकै भूमिका रहेको थियो । तर प्रधानमन्त्रीले बालुवाटारमा पुगेका ती विश्वासपात्रबाट यथार्थ जानकारी पाएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई तत्काल सम्झौता रद्द गर्न ठाडो आदेश दिएका थिए ।

प्रधानमन्त्रीको ठाडो आदेशसँगै स्वास्थ्य मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी ओम्नी समूहसँग भएको सम्झौता रद्ध गरिएको जानकारी दिएको थियो ।

यी हुन प्रधानमन्त्रीलाई गलत रिपोटिङ गर्ने  सल्लाहकार

प्रधानमन्त्रीका आइटि सल्लाहकार असगर अलीले र प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले गलत रिपोटिङ गरेको बालुवाटार निकट श्रोतको भनाई छ । ओम्नी समूहका युवराज शर्मा र प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलीबीचको सम्बन्धले नै मेडिकल सामाग्री खरिदको प्रक्रिया मिचिएको थियो । अली र शर्मा पुराना दोस्ती हुन ।

प्रधानमन्त्रीको निवासमा बनाइएको डिजिटल वार रुमको कामका क्रममा सम्बन्ध जोडिएको थियो। ओम्नी समूहले नै अलीको कम्पनीलाई वार रुमको सामान सप्लाई गरेको थियो। वार रुममासमेत आर्थिक अनियमितता भएको विवरण सार्वजनिक भइरहेका छन् नै।

नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका स्कुलमा आइटी ल्याब स्थापनाको कामका लागि गरेको टेन्डरमा पनि आइटी सल्लाहकार अलीले नै ओम्नी समूहसमेत सहभागी भएको जोयन्ट भेन्चरलाई काम मिलाउन भूमिका निभाएका थिए। आइटी ल्याबको काम समेत विवादमा छ।

यसैगरी, ओम्नी समूहले २०७४ सालको स्थानीय, प्रदेश तथा केन्द्रीय निर्वाचनको बेलामा निर्वाचनको आयोगको २४ करोडको ठेक्कामा पनि काम गरेको थियो। यसले ३ रुपैयाँमा छाप्न सकिने मतदाता परिचय पत्र छाप्ने काममा यसले मंहगोमा कार्ड छान्ने गरी सेटिङमा टेन्डर पारेको थियो।

ओम्नी समूहको प्रतिनिधिसँग प्रधानमन्त्रीका राजनीतिक सल्लाकार विष्णु रिमालको पनि निकट सम्बन्ध देखिन्छ। अली र रिमालबीचको सम्बन्ध पुरानै हो। अलीको कम्पनीसँग रिमालको पारिवारिक सदस्य जोडिएका छन्।