अस्ट्रेलियाले बनायो कोरोना विरुद्धको खोप, आजै परीक्षण हुँने

बिहिबार, २० चैत्र २०७६

काठमाडौं – अस्ट्रेलियाका वैज्ञानिकहरुले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित खोपहरु बनाएका छन । बैज्ञानिकहरुले आजै दुई खोपको ल्याब परीक्षण सुरु गरेका छन् ।

अक्सफोर्ड यूनिभर्सिटी र अमेरिकी कम्पनी इनोभिनो फर्माक्युटिकलले बनाएको खोप जनावरमा परीक्षणका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अनुमति दिएपछि परिक्षण सुरु भएको हो । अस्ट्रेलियाको नेशनल साइन्सले बनाएको यो खोपले काम गर्छ वा गर्दैन भन्ने परीक्षण गर्नेछ । यो खोप मानिसका लागि सुरक्षित रहे–नरहेको पनि परीक्षण हुनेछ ।

कोभिड–१९ को खोप पहिलोपटक अमेरिकामा गत महिना मानिसमा परीक्षण गरिएको थियो । तर उक्त खोपमा जनावरमा गर्नुपर्ने पहिलो परीक्षण गरिएको थिएन ।

विश्वभर अहिले कोरोनाविरुद्धको खोप निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ । तर अस्ट्रेलियाको कमनवेल्थ साइन्टिफिक एण्ड इन्डष्ट्रियल रिसर्च अर्गनाइजेशन (सीएसआईआरओ)ले भने परीक्षण जनावरको मोडलबाट सुरु गरिएकाले प्रभावकारी हुने बताएको छ ।

यसले कसरी काम गर्छ ?

केही दिनअघि सीएसआईआरओको टोलीले यो खोप सानो स्तनपायी जनावर फेर्रेटमा परीक्षण गरेको थियो । यो जनवरमा पनि कोरोना भाइरसको असर मानिसमा जस्तै पर्ने गरेको पाइएको थियो ।

अहिले कोभिड–१९ को विकासका लागि विश्वभर कम्तीमा २० ओटा खोप विकासको क्रममा छन् । सीएसआईआरओले विश्वभरका प्रमुख संस्थाहरुले छानेको दुई विकल्पलाई आधार बनाएर आफ्नो खोपको परीक्षण गरिरहेको छ । साथै यसबारे गरिएका अधिकांश शोधलाई पनि आधार बनाएको छ । त्यसैअनुसार दुई किसिमको खोपको विकास गरिएको हो ।

नतिजा आउन कति समय लाग्छ ?

वैज्ञानिकहरुकाअनुसार जुनको सुरुवातसम्ममा यो खोपको पहिलो नतिजा आइसक्छ । यो सफल भयो भने यसको फेरि क्लिनिकल परीक्षण अन्यत्र कुनै ल्याबमा गरिनेछ । यो अवधिसम्ममा विश्वभर यो भाइरसविरुद्ध धेरै खोपको परीक्षण हुन थाल्नेछन् ।

तर विशेषज्ञहरुले नियामकको परीक्षण र मापदण्डको लागि १८ महिनासम्म लाग्नसक्ने चेतावनी दिएका छन् ।

अक्सफोर्ड यूनिभर्सिटीले निर्माण गरेको खोप अर्को ल्याबबाट अर्कै जनावरमा पनि परीक्षण भइरहेको छ । ग्रेनफेल भने यो सहाकार्यप्रति आशावादी देखिएका छन् । उनले यो सहकार्यबाट आफूहरु सफलतामा पुग्ने विश्वास पनि व्यक्त गरेको बीबीसीले जनाएको छ ।