दाजुभाईको मदिरा पाटी बन्यो मृत्युको कारण…

बिहिबार, २० चैत्र २०७६

घोराही – दाजुभाईको मदिरा पाटी मृत्युको कारण बनेको छ । दाङको राजपुरका दुई दाजुभाई बुधबार राति संगै बसेर मदिरा सवेन गरे । त्यसपछि सामान्य घरायसी विवाद भयो । भाइले दाजु प्रेममाथि लौरो प्रहार गरेर आक्रमण गरे । त्यही लौरोले उनका दाजुको ज्यान लियो ।

जिल्लाको राजपुर गाउँपालिका वडा नं १ रसरीखोला निवासी २७ वर्षीय भाइ जसराम कामीले लट्ठी प्रहार गर्दा गम्भीर घाइते भएका ३२ वर्षीय प्रेम कामीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घरायसी सामान्य विवादका क्रममा भाइले दाजुमाथि लौरोले आक्रमण गरि गम्भीर घाइते बनाएपछि उनलाई उपचारका लागि लमही अस्पतालमा ल्याइएको थियो ।

उनको उपचारको क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिएका छन् । दाजुमाथि लट्ठी प्रहार गर्ने जसराम अहिले फरार रहेको र उनको खोजी कार्य तीव्र पारिएको डिएसपी खड्काले बताए ।

घाइतेको श्वासनली र पछाडी गर्धनमा गम्भीर चोट लागेको छ । शवलाई लमही अस्पतालमा राखिएको छ ।