नेपालमा कोरोना संक्रमितको संख्या ९ पुग्यो
काठमाडौं – नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । कैलाली र कञ्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको पछि संक्रमितको संख्या ९ पुगेको छ ।
मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् । दुई जना बाहिरबाट आएका हुन् । सातौं केस धनगढीको पहिलो र नेपालको चौथो संक्रमितका भाउजु हुन् । उनी ३४ वर्षीया महिला हुन् ।
आठौँ केश लम्की कैलालीका २१ वर्षीय पुरुषमा देखिएको छ । उनी केही समयअघि भारतको मुम्बईबाट आएका हुन् । उनी क्वारेन्टाइनमा थिए । नवौँ केश भारतको उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा देखिएको छ । उनी पनि क्वारेन्टाइनमा रहेका थिए ।
संक्रमित तीनै जनालाई अहिले सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको छ ।