बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका बाबुरामको सव अझै उठेन, कसले गर्यो सवमाथि राजनीति ?
बुटवल– बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालमा ज्यान गुमाएका बाबुराम थापाको सव आजसम्म उठेको छैन । चैत १६ गते दिउँसो मृत्यु भएका पाल्पा रिब्दिकोटका ३४ वर्षीय थापाको शव नौं दिन वितिसक्दा पनि उठ्न सकेको छैन ।
मृतकका आफन्त र प्रमुख विपक्षी नेपाली कांग्रेससहितका राजनीतिक दलले अस्पतालको लापरवाहीका कारण ज्वरोका विरामी थापाको मृत्यु भएको भन्दै छानबिन गर्न र पीडित परिवारलाई न्याय हुने गरी राहत दिन माग गर्दै शव उठाउन मानेका छैनन् ।
तर सरकारी पक्षबाट यससम्बन्धी औपचारिक धारणा अझै आएको छैन । शव उठाउने पहल नगरेको भन्दै सरकारको आलोचना भइरहेको छ । सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न आफ्ना मागमाथि बेवास्ता गरेको भन्दै मृतकको परिवार रुष्ट छ ।
पत्नी रिता थापा, रिताका दाजु कमल टण्डन लगायत आफन्तले कोरोना विशेष अस्पतालले बाबुराम थापा भर्ना भएदेखि मृत्यु हुँदासम्मको सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेका छन् । ‘अस्पतालले उपचारमा लापरवाही गरेको होइन भने सीसीटीभी फुटेज सार्वजनिक गरेर हाम्रो चित्त बुझाउनुपर्छ,’ मृतकका जेठान कमल टण्डनने भने, ‘अप्ठेरो परिस्थितिको बहानामा मान्छेको ज्यानमाथि भएको लापरवाही र खेलवाड गर्नेलाई हामी कदापी छाड्दैनौ ।’
दुबईबाटै ज्वरो लिएर आएका थापालाई ज्वरो निको नभएपछि चैत १३ गते कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । चैत १६ गते दिउँसो १ बजे उनको मृत्यु भयो । मृत्यु भएकै दिन मात्रै उनको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएकोमा अर्को दिन रिपोर्ट ‘नेगेटिभ’ आएको थियो ।
थापाको उपचारबारे मृतककी पत्नी, आफन्त, सरोकारवाला र स्वास्थ्य क्षेत्रका जानकार सबैले अस्पतालको लापरवाहीका कारण ज्यान गएको कुरामा एकमत रहेकाले कि त निष्पक्ष छनबिन हुनुपर्ने, कि त आशंका हटाउन सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने आफूहरुको माग रेहको टण्डनले बताए ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले थापाको उपचारमा लापरवाही नभएको दावी गरेका छन् ।