मनकारी सांसद प्रेम आले, जसले दिए जिल्लामा लाखौं मूल्यको स्वास्थ सामग्री

मंगलबार, २५ चैत्र २०७६

काठमाडौं – डोटीबाट निर्वाचित संघीय सांसद प्रेमबहादुर आलेले कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा उपचारमा खटिने जिल्लाका चिकित्सकहरुका लागि लाखौं मूल्य बराबरको स्वास्थ्य सामग्री निःशुल्क प्रदान गरेका छन् ।

सांसद आलेले विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रण तथा उपचारमा खटिएका चिकित्सकलाइ आवश्यक पर्ने स्वास्थ्य सामग्री यथेष्ट परिणाममा नहुँदा जिल्लामा समस्या भएपछि आफ्नो व्यक्तिगत खर्चमा सहयोग गरेका हुन् । उनले पिपिइ सेट ५० थान ,सेनिटाइजर दुइ सय पिस, क्याप एक हजार पिस, ग्लोब्स एक हजार दुइ सय जोडी, र मास्क एक हजार पिस प्रदान गरेका हुन् । उनले जिल्लाका चिकित्सकका लागि आवश्यक पर्ने अन्य स्वास्थ्य सामग्री पनि क्रमिक रुपमा उपलब्ध गराउने बताए ।

यसका साथै सांसद आलेले भारतबाट काम गरेर फर्किएकाहरु जिल्लामा क्वारेन्टाइनमा रहेको र उनीहरुको स्वाव संकलन गर्नका लागि पहल भइरहेको जानकारी दिए । आलेले हामीसँग कुरा गर्दै भने, “क्वारेन्टाइनमा बसेका सबैको स्वाव संकलन गर्न पहल भइरहेको छ, मैले गृह सचिव महेश्वर न्यौपानेसँग सबैको स्वाव संकलन गर्न कुरा गरेको छु, छिट्टै सबैको स्वाव संकलन हुने विश्वास लिएको छु ।”

भारतबाट काम गरेर फर्किएका ३ सय ११ जना नौ वटा स्थानीय तहमा रहेका १२ वटा क्वारेन्टाइनमा रहेका छन् । सांसद आलेमगरले स्वास्थ्य सामग्री उपलब्ध गराएपछि जिल्लामा बिरामी चेकजाँच गर्न सहज हुने जिल्ला स्वास्थ्य कार्यालय डोटीका स्वास्थ्य अधिकृत रमेश मलासीले बताए ।

सांसदले आलेले निशुःल्क प्रदान गरेको स्वास्थ्य सामग्री क्वारेन्टाइनमा बसेकाहरुको स्वाव संकलन गर्न आउने स्वास्थ्यकर्मीमार्फत जिल्ला स्वास्थ्य कार्यालयलाइै हस्तान्तरण गरी प्रमुख जिल्ला अधिकारीको रोहवरमा नौ वटै स्थानीय तहका स्वास्थ्य प्रमुखलाइ हस्तान्तरण गर्ने कार्यक्रम रहेका जिल्ला स्वास्थ्य कार्यालय डोटीका स्वास्थ्य अधिकृत मलासीले जानकारी दिए ।

सांसद आलेमगरले जिल्लाका चिकित्सकका लागि उपलब्ध गराउनु भएको स्वास्थ्य सामग्री जिल्लाका लागि निकै स्वागतयोग्य काम भएको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताए ।
संयोजक ऐरले भने, “ सिंगो राज्यले स्वास्थ्य सामग्री उपलब्ध गराउन नसकेको बेला एक व्यक्तिले यत्रो ठूलो परिमाणमा जिल्लामा स्वास्थ्य सामग्री पठाउनु भनेको धेरै नै सरहानीय काम हो, म समग्र जिल्लाबासीको तर्फबाट सांसद आलेलाइ विशेष धन्यवाद दिन चाहन्छु ।”