पूर्वसांसद उप्रेतीको सक्रियतामा बन्यो कोरोना अस्पताल

मंगलबार, २५ चैत्र २०७६

काठमाडौं – सर्लाही ३ बाट २०७० सालको संविधानसभामा तत्कालीन नेकपा एमालेबाट निर्वाचित पूर्व सांसद हरिप्रसाद उप्रेतीको सक्रियतामा सर्लाहीको बरथहवा नगरपालिका १५ को एउटा स्वास्थ्य चौकीलाई अहिले क्वारेन्टाइन अस्पताल बनाइएको छ ।

बनिसकेर उद्घाटन गर्न बाँकी रहेको स्वास्थ्य चौकी भवनमा २० वटा बेड राखिएको र क्वारेन्टाइनको व्यवस्था गरिएको पूर्व सांसदले बताए । उनले विशेषगरी भारतबाट आउनेका लागि यो क्वारेनटाइन बेड उपयुक्त भएको बताए ।

‘नेपालमा संक्रमण नबढेको र भारतमा संक्रमितको संख्या बढ्दै गरेकाले यो बेला भारत पुगेका यो क्षेत्रका धेरैजसो नेपाली स्वदेश फर्किएका छन् ।’ उप्रेतीले भने, ‘यो अस्पताल उनीहरुका लागि हो ।’

उप्रेतीको पहलमा ३ वर्ष अघिबाट ३ करोड रुपैंयामा स्वास्थ्य चौकी बनेको हो । उप्रेतीले गाउँगाउँ पुगेर स्वास्थ्य सामग्री वितरण गरिएको समेत बताएका छन । उप्रेतीले विशेषगरी ग्रामीण भेगमा र सामान्य जनजीवन भएका ठाउँमा पुगेर चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको जनाएका छन् ।

वडासँगको समन्वयमा मास्क, साबुन, सेनिटाइजर पनि वितरण गरिएको छ । उप्रेतीकी छोरी हिनाले स्वास्थ्य चौकीमा पीपीईको अभावमा उपचारमा समस्या परेको बुझेपछि २ वटा पीपीई सेट र २५ वटा मास्क उपलव्ध गराएकी छिन् ।