अस्पतालबाट भागेका कोरोना संक्रमित नेपाली पक्राउ
काठमाडौं – भारतको उत्तर प्रदेश राज्यस्थित बापत जिल्लाको एक अस्पतालबाट फरार कोरोना संक्रमित एक जना नेपालीलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको छ ।
उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा उपचाररत रहेकै अवस्थामा फरार तबलिगी जमाती समूह सम्बद्ध वृद्धलाई बागपत प्रहरीले नियन्त्रणमा लिइएको हो । कोरोना संक्रमित ती नेपाली सुनसरी भोक्राहाका ६५ वर्षीय वृद्ध भएको बताइएको छ ।
उनी तबलिगी सम्मेलनमा सहभागी हुन पुगेका थिए । उक्त सम्मेलनमा सहभागी व्यक्तिमा कोरोना देखिएपछि उनको पनि परीक्षण गरिएको थियो । परिक्षणपछि शुक्रबार उनको रिपोर्ट पोजेटिभ आयो ।
कोरोना पुष्टि भएपछि उनलाई उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएको थियो । तर उनी सोमबार राति उपचाररत अस्पतालको सिसा फुटाएर भागेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
तबलिगी जमाती समूह धार्मिक सभामा सहभागी भएको र त्यहीँबाट कोरोना संक्रमण भारतमा तीव्र रुपमा फैलिएको अनुमान गरिन्छ । सो धार्मिक समूहमा १९ जना नेपाली तबलीगी जमाती समूह पनि सहभागी थिए । भारतबाट फर्किएका कतिपयलाई प्रदेश २ का जिल्लाहरुमा नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको छ ।
नेपालमा लकडाउन भएपछि करिब दुई हजार एक सय बढी नेपालीहरु भारतमै क्वारेन्टाइनमा रहेको बताइएको छ ।
