कोरोना संक्रमित विरामी भेट्न मुख्यमन्त्री गुरुङ जव अस्पताल पुगे..

शुक्रबार, २८ चैत्र २०७६

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमित विरामी भेट्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बाग्लुङ पुगेका छन । उनले कोरोना भाइरस नियन्त्रणको तयारीबारे बागलुङ, म्याग्दी र पर्वत पुगेर जानकारी पनि लिएका छन ।

मुख्यमन्त्री गुरुङ, प्रमुख राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपाली र प्रदेश सचिव हरि बस्यालसहितको टोली शुक्रबार तीन जिल्ला पुगेको हो ।

पर्वतको आइसोलेसन वार्डको निरीक्षण गरी गुरुङ धौलागिरि प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचारबारे जानकारी लिन बागलुङ पुगेका प्रमुख राजनीतिक सल्लाहकार नेपालीले जानकारी दिए । त्यस अस्पतालमा अहिले दुई जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

गुरुङले धौलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष, मेडिकल सुपरिटेन्डेन्टलगायतसँग कोरोना संक्रमितको उपचारबारे जानकारी लिएका थिए । ‘उहाँले स्रोत साधनको कमी हुन नदिने भन्दै चिकित्सकलाई आत्मबल उच्च राखेर काम गर्न आग्रह गर्नुभयो’ नेपालीले अनलाइनखबरसँग भने ।

बिहीबार मात्र मुख्यमन्त्री गुरुङले अस्पतालमा उपचाररत १९ वर्षकी कोरोना संक्रमित युवतीसँग टेलिफोनमा कुराकानी गरेका थिए ।

गुरुङले जिल्ला प्रशासन कार्यालय बागलुङमा पुगी प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले कोरोना रोकथामका लागि गरेको तयारीबारे जानकारी लिएका सल्लाहकार नेपालीले बताए ।

त्यसपछि म्याग्दी गएका मुख्यमन्त्री गुरुङले त्यहाँको क्वारेन्टाइनस्थलको निरीक्षण गरेर प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी पोखरा फर्किएका छन् ।