कोरोनाबाट अमेरिकामा २० हजारभन्दा बढीको मृत्यु
काठमाडौं – कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका बाट अमेरिकामा मृत्यु हुनेको संख्या २० हजार नाघेको छ ।
बल्र्ड मिटरको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म यो भाइरसको कारण २० हजार पाँच सय ७७ जना मानिसको मृत्यु भइसकेको छ । अमेरिकाको न्युयोर्क राज्यमा मात्र आठ हजार छ सय ३८ जनाको मृत्यु भइसकेको छ ।
न्युयोर्कमा समग्र संक्रमितको संख्या पनि एक लाख ८१ हजार नाघेको छ । यससँगै अमेरिकाले कोरोना भाइरसबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुनेमा इटालीलाई पछि पारेको छ । इटालीमा अहिलेसम्म यो भाइरसको कारण १९ हजार चार सय ६८ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि पाँच लाख २७ हजार नाघेको छ । अमेरिकामा अहिलेसम्म ३१ हजारभन्दा बढी संक्रमित निको भइसकेका छन् ।
चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण अहिलेसम्म विश्वभर १७ लाख ७३ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने एक लाख आठ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।