विवादित गाउँपालिका अध्यक्षलाई पनि कोरोनाको आशंका, परिक्षण हुँदै

सोमबार, १ बैशाख २०७७

वीरगञ्ज – भारतीय मिडियाहरुले कोरोना भाइरस फैलाएको आरोप लगाएका एक गाउाँपालिकाका अध्यक्षको कोरोना परिक्षण गरिने भएको छ । कोरोना फैल्याएको आरोप लागेका जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँको कोरोना परिक्षण गरिने भएको हो ।

उनको थ्रोट स्वाब संकलन गरिएको छ । संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिले मियाँलाई भेटेको हुन सक्ने आशंकामा थ्रोट स्वाब लिइएको हो ।

तीन जना भारतीय जमातीमा कोभिड–१९ को संक्रमण पुष्टी भएपछि वीरगञ्जमा शंकास्पद व्यक्तिको परीक्षणलाई तिब्रता दिइएको छ । संक्रमित व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ सँगसँगै शंकास्पद व्यक्तिहरुको परीक्षणमा तिब्रता दिइएको हो ।

सोमबार पर्सामा ३८ जनाको थ्रोट स्वाब संकलन गरेर पठाइएको छ ।

अध्यक्ष जालिम मियाँसँगै परिवारका १९ जना, कलवार कल्याण समिति स्थित क्वारेन्टाईनमा राखिएका १० जना र सिद्धार्थ स्कुल क्वारेन्टाइनका ९ जना गरी ३८ जनाको थ्रोट स्वाब कलेक्सन गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए । उनीहरुको थ्रोट स्वाब परीक्षणका लागि प्रयोगशाला पठाउने तयारी भइरहेको छ ।

जगरनाथपुर गाउँपालिकाबाट जमाति समूहका १५ जनालाई केही दिन अघि अध्यक्ष मियाँकै सवारीमा राखेर वीरगञ्ज ल्याइएको थियो । पर्सा, बाराबाट नियन्त्रणमा लिएका जमातीमध्ये बारा, रौतहट र सप्तरी घर भएका ३६ जनालाई घर पठाइएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले संक्रमितको सम्पर्कमा नरहेपनि अन्य जमातीको सम्पर्कमा रहेका कारण अध्यक्ष मियाँको थ्रोट स्वाव संकलन गरिएको जानकारी दिए ।