राहत वितरण गर्दै गरेका विप्लवका कार्यकर्तामाथि हातपात (विज्ञप्ति सहित)

बिहिबार, ४ बैशाख २०७७

काठमाडौं – नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बझाङले राहत वितरण गर्न गएका आफ्ना कार्यकर्तामाथि हातपातको प्रयास भएको जनाएको छ । बिहिबार एक विज्ञप्ति जारी गर्दै नेकपा बझाङले थलारा गाउँपालिका बडा नम्बर १ र २ का जनतालाई राहत वितरण गर्ने क्रममा सक्तरुढ नेकपाका कार्यकर्ताले हातपात प्रयास गरेको जनाएको हो ।

जिल्ला इन्चार्ज विराट र सचिव हरिलालद्वारा जारी विज्ञप्तिमा जिल्लाका विभिन्न वडाहरुमा ३५० भन्दा बढी बिपन्न तथा गरिब परिवारलाई खाद्य सामग्री वितरण गरेको रिसमा हातपात प्रयास गरेको जनाइएको छ । विज्ञप्ति अगाडी भनिएको छ, ‘राहत वितरण पश्चात जनताले धन्यवाद दिएर पार्टी खुलेर जनताको बीचमा आउन आग्रह गरिरहेको समयमा पार्टीको उक्त कार्यबाट अतालिएर सरकारी नेकपाका केहि लठैतहरुले स्थानीय कार्यकतामाथि आक्रमण गर्न खोज्दा जनताहरुले उल्टै प्रतिकार गरि बिप्लवको पक्षमा नारावाजीसमेत गरि लखेटेर भगाएका छन्।’

जिल्ला पार्टीले उक्त वडाका क्रान्तिकारी जनतालाई धन्यवाद ज्ञापनसमेत गरेको छ ।