दुई दिनदेखि कोरोनाका नयाँ बिरामी छैनन् : मन्त्रालय

बिहिबार, ४ बैशाख २०७७

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगत २४ घण्टामा गरिएको परीक्षणमा कसैमा पनि कोरोनाभाइरस सङ्क्रमण नभेटिएको जनाएको छ।

बुधवार पनि कुनै सङ्क्रमित फेला परेका थिएनन्। अहिलेसम्म पुष्टि भएका सङ्क्रमित व्यक्तिको सङ्ख्या १६ छ। तीमध्ये एक जना पहिला नै निको भइसकेका छन् भने १५ जना विभिन्न अस्पतालमा छन्।

बिहीवार अपराह्ण नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता विकास देवकोटाले विगत २४ घण्टामा पीसीआर विधिबाट ३६९ वटा नमुनाको परीक्षण गरिएको तर कुनैमा पनि कोरोनाभाइरस नभेटिएको बताए।

उनका अनुसार सो अवधिमा कुल ३,२६३ व्यक्तिबाट सङ्कलित नमुना को आरडीटी अर्थात् द्रुत विधिबाट परीक्षण गरिएको थियो।

आरडीटी विधिबाट परीक्षण गर्दा रगतको नमुनामा एन्टीबडी देखिएमा सम्भावित सङ्क्रमित व्यक्तिको घाँटीबाट सङ्कलित नमुना गरी त्यसमा भाइरस भए नभएको हेर्न पीसीआर विधिबाट थप परीक्षण गरिन्छ।

यसअघि मङ्गलवार लगातार तेस्रो दिन कोभिड(१९ भएका व्यक्तिहरू फेला परेका थिए। देवकोटाका अनुसार अस्पतालमा भएका सङ्क्रमित व्यक्तिहरूको स्वास्थ्यस्थिति राम्रो छ।

उनीहरूमध्ये दुई जना टेकु, २ जना बागलुङ, चार जना वीरगन्ज र पाँच जना कैलालीस्थित अस्पतालमा उपचार गराइरहेका छन्।