प्रचण्डको कविता : जतन

शुक्रबार, ५ बैशाख २०७७

​सानोमा

कसैले कसैलाई पिटेको सुन्दा मन दुख्दैनथ्यो

चप्पल चुंडिदा पनि आफू चुंडिनुको आभास हुन्नथ्यो

पानी पोखिँदा रगत पोखिए जस्तो लाग्दैनथ्यो
लड्दा यो मस्तिष्क भत्किएको जस्तो लाग्दैनथ्यो

केही रित्तिँदा आफू रित्तिएको कुनै अनुभव हुन्नथ्यो
गाग्री कुच्चिंदा आफू कुच्चिएको पीडा हुन्नथ्यो

सिसा टुक्राटुक्रा हुँदा शरीर चिरिएको भान हुन्नथ्यो
गाउँ पुरै सुनिने गरि चिच्याउँदा पनि बोल्नुको रहर मेट्दिैनथ्यो

सानोमा केहीको जतन थिएन
आफैसँग आफ्नो प्रेम थिएन

अचेल आफूले आफैंलाई खुब प्रेम गर्न थालेको छु
अचेल आफूले आफैंलाई धेरै जतन गर्न थालेको छु

अचेल
कसैले कसैलाई छुँदा पनि यो मन दुख्छ
जुत्ता फाट्दा आफैं फाटे झैं लाग्छ

पानी पोखिँदा आफ्नो रगत पोखिए झैं लाग्छ
लड्दा यो मस्तिष्क भत्किएको जस्तो लाग्छ

केही रित्तिँदा आफु मेटिए झै लाग्छ
गाग्री कुच्चिंदा स्वयम आफू कुच्चिए झैं लाग्छ

सिसा टुक्राटुक्रा हुँदा आफ्नो शरीर चिरा चिरा परेको भान हुन्छ
शहर बोल्दा पनि कान बन्द भएझै हुन्छ

अचेल आफूले आफैंलाई खुब प्रेम गर्न थालेको छु
अचेल आफूले आफैंलाई धेरै जतन गर्न थालेको छु
हो अचेल आफुले आफैलाई धेरै जतन गर्न थालेको छु !

प्रचण्ड गौतम
रामेछाप
हाल काठमाडौं