रक्सी खाएर शिक्षक कुट्ने वडाध्यक्ष निलम्बन

मंगलबार, १० भाद्र २०८२

काठमाडौँ – नेकपा माओवादी केन्द्रले बाराको प्रसौनी गाउँपालिका वडा नं.  ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको छ। एक शिक्षकलाई वडा कार्यालयमा बन्धक बनाई निर्घात कुटपिट गरेको घटनामा संलग्न रहेको भन्दै माओवादीले कुशवाहालाई निलम्बन गरेको हो।

कुशवाहा माओवादीको पूर्व जिल्ला सदस्य हुन् भने माओवादी केन्द्रबाट २०७९ सालमा निर्वाचित वडाध्यक्ष हुन्। कुशवाहासहित आठ जनाले पर्सा बहुदरमाई घर भई प्रसौनी ६ बेलहीया बस्दै आएका शिक्षक नागेश्वर यादवलाई कुटपिट गरेको आरोप छ। मदिरा सेवन गरी यादवलाई नग्न बनाएर वडा कार्यालयमै कुटपिट गरेको भिडियोसमेत माओवादीले फेला पारेको छ।

अराजक गतिविधि र पार्टी अनुशासन उलंघन गरेको भन्दै माओवादी केन्द्रका मधेस इन्चार्ज मातृका यादवले कुशवाहालाई निलम्बन गरेका हुन्। कुशवाहाको पार्टी सदस्यता खारेज गर्न र जिम्मेवारीबाट हटाउन माओवादीको प्रसौनी गाउँ समितिले भदौ ५ गते र बारा जिल्ला समन्वय समितीले भदौ ७ गते प्रदेश समितिलाई पत्र लेखेको थियो।

जिल्ला समिति बाराका इन्चार्ज क्षेत्रबहादुर श्रेष्ठले विभिन्न पाँच कारण देखाउँदै कुशवाहालाई पार्टी सदस्यता खारेज गर्न माग गरेका थिए। श्रेष्ठले पत्रसहित शिक्षक यादवलाई कुटपिट गरेको भिडियो समेत प्रदेश कमिटीलाई उपलब्ध गराएका थिए। कुशवाहाको सदस्यता खारेज गर्न र सम्पूर्ण जिम्मेवारीबाट हटाउन पत्राचार गरेपनि प्रदेश कमिटीले भने ६ महिनाका लागि मात्रै पार्टी सदस्यबाट निलम्बन गरेको हो।